Logo

लगानी भित्र्याउन नेपाली प्रतिनिधिमण्डल अस्ट्रेलिया जाँदै, नेपालको वारेमा जानकारी गराइने

लगानी भित्र्याउन नेपाली प्रतिनिधिमण्डल अस्ट्रेलिया जाँदै, नेपालको वारेमा जानकारी गराइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ चैत, काठमाडौं । नेपालमा लगानी वैशिक लगानी भित्र्याउनका लागि नेपाली व्यवसायीहरु अष्ट्रेलिया जाने भएका छन् । नेपालको लगानी वातावरणबारे जानकारी गराउने तथा द्विपक्षीय व्यापारका थप सम्भावना खोज्ने उद्देश्यले नेपाल–अस्ट्रेलिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका एक प्रतिनिधिमण्डल आइतबार अस्ट्रेलिया जाने भएका छन् ।

चेम्बरका अध्यक्ष अखिलकुमार चापागाईंले नेतृत्वमा १९ सदस्यीय व्यवसायी प्रतिनिधिमण्डल अष्ट्रेलिया जान लागेका हुन् । दुई सातालामो भ्रमण क्रममा प्रतिनिधिमण्डलले मेलबर्नमा गैरआवासीय नेपाली संघसँग पनि छलफल गर्नेछ । सो अवसरमा त्यहाँ व्यवसाय गरिरहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आग्रह गरिनेछ ।

नेपाली व्यवसायीले मेलबर्नकै भिक्टोरिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग पनि नेपालमा लगानी भित्र्याउने वारे छलफल गर्नेछ । सो छलफलमा नेपाली प्रतिनिधिमण्डलका संयोजक अखिलकुमार चापागाईंले नेपालसम्बन्धी प्रस्तुति पेस गर्नेछन् । उक्त प्रस्तुतिमा नेपालको आर्थिक, सामाजिक विशेषता लगायत व्यवसाय र लगानीका सम्भावना, चुनौती, कानुनी र प्रक्रियागत विषयहरु समेटिएकाले त्यहाँका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।

अस्ट्रेलियाको अर्को सहर ब्रिसबेनका व्यवसायीसँग पनि प्रतिनिधिमण्डलले लगानी र व्यापार विस्तारका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम छ । त्यहाँ ब्रिसबेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग चेम्बर टु चेम्बर मिटिङ हुनेछ ।

प्रतिनिधिमण्डल अर्को सहर सिड्नी पनि जाने कार्यक्रम छ । त्यहाँ गैरआवासीय नेपाली संघ–अन्तर्राष्ट्रिय समन्वय समितिसँग ब्रेकफास्ट मिटिङ हुनेछ । यो भेटघाटको मुख्य उद्देश्य त्यहाँका गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी गर्न प्रेरित गर्नु रहेको छ ।

त्यसैगरी प्रतिनिधिमण्डलले न्यु साउथ वेल्स बिजिनेस चेम्बरसँग नेटवर्किङ मिटिङ गर्नेछ । उक्त मिटिङमा नेपाल विदेशी लगानीका लागि अत्यन्तै उपयुक्त गन्तव्य रहेको सन्देश प्रवाह गर्ने कार्यक्रम छ । द्विपक्षीय व्यापार विस्तारका सम्भावनाबारे पनि बृहत् छलफल हुनेछ । राजधानी क्यानबेरामा अस्ट्रेलियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आबद्ध व्यवसायीसँग बिटुबी मिटिङ गर्ने कार्यक्रम छ ।

नेपाली प्रतिनिधि मण्डलमा अध्यक्ष चापागाईंका साथै हिमालयन बिल्डर्स एन्ड इन्जिनियरिङ प्रालिका अध्यक्ष जनकदत्त खनाल, बिनिशा इन्टरप्राइजेजका विनय उपाध्याय, क्रियटिभ डिजाइनका शेरबहादुर क्षेत्री, थर्मो डाइनामिकका उमेश रायमाझी, होटल इन्द्रेणी हिमालयका अनुज रिमाल, संकल्प हस्पिटालिटीका शिवहरी दंगाल, व्यवसायीहरु मन्जु धमला, रमा कँडेल, एसके श्रेष्ठ, प्रज्ज्वल शमशेर जवरालगायत सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL