Logo

विपद व्यवस्थापन उद्धारकर्मी तयार गर्दै महानगर, यस्तो छ रणनीति

विपद व्यवस्थापन उद्धारकर्मी तयार गर्दै महानगर, यस्तो छ रणनीति


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि काठमाडौं महानगरपालिकाले हरेक वडामा बिपद् उद्धार तथा अग्नि नियन्त्रण स्वयम्सेवक तयार गर्ने तयारी थालेको छ । कामपाले यसका लागि लागि एउटा वडाबाट ४० जना स्वयम्सेवकलाई बिपद उद्धार तथा अग्नि नियन्त्रण सम्बन्धि ७ दिनको तालिम दिइने जानकारी दिएको छ ।

यसरी तालिम प्राप्त स्वयम्सेवकलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराएर स्थानीय स्तरमा हुने घटनाको व्यवस्थापन गर्ने पहिलो प्रतिकार्य दस्ता बिकास गराउन थालिएको हो । यसका लागि वडा ६, ७ र २१ बाट स्वयम्सेवक गठन भई नाम आइसकेको, बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । हामी महानगरभित्रको विपद्मा तत्काल खटिन सक्ने १ हजार २ सय ८० जना दक्ष उद्धारकर्मी तयार गर्ने तयारीमा लागेका छौं, संयोजक शाक्यले बताए । यी जनशक्तिले बिपद पूर्व तयारी तथा प्रतिकार्यको काम गर्नेछन् ।

‘सबै वडाबाट नाम प्राप्त भइसकेपछि हामी तालिम शुरु गर्छौं,’ वडा नं १५ काय अध्यक्ष इश्रमान डंगोलले बताए, ‘हामीले तयार पारेका स्वयम्सेवकमार्फत हामी हरेक घरमा पुग्ने प्रयास गर्नेछौं ।’ महानगरले विपद् पूर्व तयारी तथा तत्काल राहत उद्धारमा काम गर्न महानगर आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिसकेको छ । राष्ट्रिय सभा गृहमा रहेको यस केन्द्रले अहिले वडा स्तरीय अग्नि नियन्त्रण सम्बन्धी सैद्धान्तिक तथा ब्यबहारिक तालिमसँगै प्राथमिक उपचार सम्बन्धी एक दिने अनुशिक्षण तालिम दिइरहेको छ ।

वडा बिपद ब्यबस्थापन तथा नागरिक सुरक्षा समितिका पदाधिकारीहरुलाई तालिममा सहभागी गराइएको छ । अहिले सम्ममा २० वटा वडाका पदाधिकारीलाई दिइसकिएको यो तालिम सकिएपछि ४ सय ४८ जना अर्ध—दक्ष तालिम प्राप्त जनशक्ति तयार हुने, कार्य सञ्चालन केन्द्रका प्रमुख किशोरकुमार भट्टराईले बताए । उनका अनुसार वडा ५, ६, ७, ८, ९, १२, १५, १६, १८, १९, २०, २१, २३, २४, २६, २७, २८, २९, ३० र ३२ का लागि तालिम सकिएको छ । त्यस्तै वडा ६, ७ र २१ मा बिपद उद्धार तथा अग्नि नियन्त्रक स्वयसेवक गठन भइसकेको छ ।

केन्द्रले बिपद ब्यबस्थापन अन्तर्गत पूर्व तयारीका लागि अनुशिक्षण सञ्चालन गरेको हो । महानगरका सबै वडामा १४ सदस्यीय बिपद ब्यबस्थापन तथा नागरिक सुरक्षा समिति गठन भइसकेको छ । यस समितिमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व छ ।

प्रतिक्रिया दिनुहोस्
MBL