Logo

इटाली पुनः आर्थिक मन्दीतर्फ जाने सङ्केत, आर्थिक वृद्धिदर न्युन

इटाली पुनः आर्थिक मन्दीतर्फ जाने सङ्केत, आर्थिक वृद्धिदर न्युन



काठमाडौं । इटालीमा चार बर्षपछि पुनः आर्थिक मन्दीको सङ्केत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा दोखाइएको छ ।

इटालीमा देखिएको आर्थिक सङ्कटले १९–राष्ट्र सदस्य रहेको यूरो समूहलाई पुनः चिन्तित पारेको छ ।

यूरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको त्रैमासिक वृद्धिदरमा ० दशमलव २ प्रतिशतले कमी आएको छ । अघिल्लो तीन महिना अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म यहाँको कुल ग्राहस्थ उत्पादनको ०.१ प्रतिशतको सङ्कुचन रहेकोमा यसबाट पनि थप ० दशमलव २ प्रतिशतको कमी आएको जनाइएको छ । लगातार दुई त्रैमासिकमा देखिएका आर्थिक सङ्कुचनलाई प्राविधिक मन्दी भनिएको छ ।

इटालीको मन्दीको एउटा कारण त समग्र यूरो क्षेत्रको आर्थिक वृद्धिदरमा देखिएको कमीको कारण हो । यूरोपको तथ्याङ्क मामिला हेर्ने निकाय, यूरोस्टाटले बिहीबार भनेको छ, यूरो क्षेत्रको आर्थिक वृद्धि गत बर्षको अन्तिम त्रैमासमा निकै कम अर्थात् ० दशमलव २ प्रतिशत रहेको छ र अघिल्लो तीन महिनामा पनि सोही अवस्थामा रहेको थियो, जसका कारण सन् २०१८ मा यूरो क्षेत्रको समग्र आर्थिक वृद्धिदर १ दशमलव ८ प्रतिशत कायम भएको छ । यो एक बर्ष पहिले प्रक्षेपण गरिए अनुसार निकै कमी हो । सन् २०१७ मा यूरो समूहको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत रहेको थियो र अघिल्लो बर्षभन्दा सामान्य कमी आउने प्रक्षेपणभन्दा निकै तल नतिजा आएको छ ।

विगत केही महिनादेखि इटालीको अर्थतन्त्रले यूरोप लगायत विश्वसमुदायको ध्यान खिचेको छ । इटालीमा नयाँ ‘जनपक्षीय’ सरकारले यूरोपेली संघ (इयू) को कार्यकारी आयोगमा उसको जनपक्षीय बजेट योजनालाई लिएर निकै लामो समय विवाद रह्यो ।

सरकारले यहाँका जनतालाई सामाजिक सुरक्षा खर्च र पेन्सन सुधारको योजना अघिसार्दै इटालीका जनतालाई आर्थिक रूपमा समृद्ध तुल्याउने योजना इयूमा विवादरहित बन्न सकेन । निकै लामो बहसपछि पनि इटालीले जनतालाई तत्काल राहतको अनुभूति हुने खालको बजेट सार्वजनिक ग¥यो जुन इयूका लागि अस्वीकार्य थियो ।

आर्थिक मन्दीलाई औपचारिक पुष्टि गरिनुपूर्व इटालीका प्रधानमन्त्री जिसेफे कोन्टेले बुधबार सन् २०१९ को शुरूका केही महिना मुलुकले आर्थिक सङ्कुचन सामना गर्नुपर्ने देखिएको बताउँदै भने, ‘बर्षको दोस्रो छ महिनामा यसबाट मुक्ति पाउने आशाका लागि प्रशस्त आधारहरू रहेका छन् ।’

इयू आयोग भने इयू क्षेत्रकै प्रसुप्त कर्जा सङ्कटकाबीच दोहोरिएर आएको इटालीको आर्थिक मन्दीप्रति चिन्ता व्यक्त गरेको छ । उसले भनेको छ, ‘इटालीको सरकारले महत्वाकांक्षी योजनामार्फत ल्याएका कार्यक्रमलाई फिर्ता गर्नुपर्ने अन्यथा उसले थप सङ्कटको सामना गर्नुको विकल्प छैन ।’

चीन–अमेरिका व्यापार विवाद, ब्रेक्जिटबारेको अन्यौलका कारण इटालीबाहेक जर्मनी, फ्रान्सजस्ता मुलुकको पनि अर्थतन्त्रमा समस्या देखिएको छ । गत बर्षको तेस्रो त्रैमासमा यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा पनि हरितगृह ग्यास उत्सर्जन मापदण्डका कारण कार विक्रीमा आएको कमीले यहाँको अर्थतन्त्रमा अनपेक्षित सङ्कुचन आएको थियो ।
‘आर्थिक मनोभावनामा देखिएको निरन्तरको गिरावटले के सङ्केतले आर्थिक वृद्धिका रफ्तार अझै कमजोर बन्ने देखिन्छ,’ कमर्ज बैंकका अर्थशास्त्री क्रिस्टोफ वेलले भने ।

चीनको आर्थिक विकासबारेको अनिश्चितता, अमेरिका–चीन व्यापार विवाद, इयू–बेलायतको वहिर्गमन विवादले यस क्षेत्रको आर्थिक वृद्धिका लागि सन् २०१९ मा ठूलो प्रभाव पार्ने अनुमान गरिएको वेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL