Logo

कामनपाको आरोपः धेरै अड्डा हुँदा अघि बढेन विकास निर्माणका काम, यस्तो छ ६ महिने प्रगती

कामनपाको आरोपः धेरै अड्डा हुँदा अघि बढेन विकास निर्माणका काम, यस्तो छ ६ महिने प्रगती



काठमाडौं । सहरी सुविधा बितरण र पूर्वाधार निर्माण गर्ने धेरै अड्डा हुँदा काठमाडौंको अवस्था सुधार्न नसकिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

कामपामा आयोजित पत्रकार सम्मेलनमा कामपाका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगालले विकासे अड्डाले नै महानगरलार्ई यसो गर्नु र उसो नगर्नु भनेर निर्देशन दिनु स्थानीय सरकार सञ्चालनको मर्म विपरीत भएको बताएका हुन ।

भेटघाटका क्रममा प्रवक्ता डंगोलले महानगरले तर्जुमा गरेको भवन निर्माण मापदण्डमा उपत्यका विकास प्राधिकरणले पठाएको पत्र महानगरलाई स्वीकार्य नभएको बताए । ‘नगर सभाले स्वीकृत गरेको कानुन पालना नगराउनु भनेर प्राधिकरणले महानगरलाई पत्राचार गरेपछि जनप्रतिनिधिमुलक महानगरभन्दा प्राधिकरण माथि देखियो । यो हुन सक्दैन,’ प्रवक्ता डंगोलले भने ।

‘नगर सभाले स्वीकृत गरेको कानुन पालना नगराउनु भनेर प्राधिकरणले महानगरलाई पत्राचार गरेपछि जनप्रतिनिधिमुलक महानगरभन्दा प्राधिकरण माथि देखियो । यो हुन सक्दैन ।’ प्रवक्ता डंगोलले भने ।

कार्यक्रममा प्रवक्ता डंगोलले महानगरले गएको ६ महिनामा सम्पन्न गरेका महत्वपूर्ण काम समावेश गरिएको विवरण प्रस्तुत गरेका छन ।

यस्तो छ ६ महिने प्रगती विवरण

१) सबै वडा कार्यालयको आफ्नै भवन बनाउने उद्देश्य अनुरुप यो वर्ष २५ करोड बजेट छुट््याइएको छ । यसमा वडा नं. ६ र ७ निर्माणाधीन अवस्थामा छन् भने २६ र १८ को हालै शिलान्यास भएको छ । वडा नं. ४, ८, ९ र १४ को कार्यालय भवन खरिद प्रक्रियामा पुगेको छ ।

२) काठमाडौं महानगरपालिका भित्रका सडकहरुको मर्मत सम्भारको लागि यस आव मा १० करोड रुपैयाँ विनियोजन गरिएकोमा सो कार्य टेण्डर प्रक्रियामा गइसकेको छ ।

३) रानीपोखरी पुनःनिर्माणको लागि १७ करोड छुट््याइएको छ भने रानीवारी विकासको लागि ३ करोड छुट््याइएको छ ।

४) नारायणगोपाल स्मृति भवन तथा पार्क निर्माण, बालाजु पार्कको मास्टर प्लान सहरी योजना आयोगबाट भइरहेको छ ।

५) विभिन्न स्थानमा आकासे पुल निर्माणको लागि १२ करोड रुपैयाँ छुट््याइएको छ । यसमा दुई वटा आकासे पुलको डिजाइन तयार भई कार्यान्वयनको लागि गइसकेको छ ।

६) ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत सबै वडाहरूमा बत्ती जडान गरिने भएको छ । यसकालागि सबै वडाबाट ८,५०० थान सडक बत्तीको माग भएकोमा ६५० थान जडान भइसकेको छ ।

७) कमलपोखरी मर्मत सुधार तथा नागपोखरीको सौन्दर्यीकरणको काम तत्कालै शुरु हुने भएको छ । यसका लागि १ करोड बजेट बिनियोजित गरिएको छ ।

८) खुल्ला तारहरूको व्यवस्थापन गरी सहरी सौन्दर्यकरण गरिने भएको छ । अहिले विभिन्न वडाहरूमा यो कार्य शुरु भइसकेको छ ।

९) विभागले हाल नक्सापासको जानकारी घरधनीलाई एसएमएसबाट दिन शुरु गरेको छ । हाल विभागले इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम (इबिपिएस) माध्यमबाट नक्सापास गर्ने प्रक्रिया लागू गरेको छ ।

१०) आर्थिक वर्ष २०७३÷०७४ मा २,५४२ वटा नक्सापास भएकोमा तीमध्ये ९७५ लाई निर्माण सम्पन्न प्रमाणपत्र दिइ सकिएको छ । त्यस्तै आव ०७४÷०७५ मा २,७१८ वटा नक्सापास भएकोमा १,१३२ लाई निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छ ।

११) काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चीनको सीआरसीसी २५ औं ब्युरोसँग डिपिआरका लागि सम्झौता भएको छ ।

१२) महानगरका विभिन्न स्थानमा ६० वटा स्मार्ट सोलार डस्टबिन जडान गरि सकिएको छ ।

१३) वडा नं. २२ को धर्मपथस्थित कामपाको स्वामित्वमा रहेको जमिनमा पार्किङ बिल्डिङ बनाउन ईओआई सूचना जारी भएकोमा विभिन्न प्रस्ताव प्राप्त भइसकेको छ । प्रस्तावको अध्ययन भइरहेको छ ।

१४) नयाँ सडक र दरवारमार्गमा स्मार्ट पार्किङ राखिने भएको छ ।

१५) बिभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउन मस्यौदा तयार भइसकेको छ ।

१६) आकाशे पुलको स्तरोन्नतिको डिजाइन तयार भइसकेको छ ।

१७) फोहोर मैलाको दीर्घकालीन समाधानका लागि बञ्चरे डाँडामा व्यवस्थापन गर्ने सहमति भएको छ । सिसडोलदेखि बञ्चरेडाँडासम्म पुग्ने १.९ किलोमिटर सडक र बञ्चरेडाँडामा पूर्वाधार निर्माणको कार्य सहरी बिकास मन्त्रालयले गर्ने भएको छ ।

१८) सडकमा रहेका ढलको सरसफाई कार्यलाई अघि बढाएको छ ।

१९) घर बनाउँदा बाहिर राखिएका निर्माण सामाग्री घरधनी आफैलाई सफा गराउने काम गरिएको छ ।

२०) सडक सफा गर्न सडक विभागको ब्रुमर प्रयोग गरिएको छ । निकट भविष्यमै इटालीबाट महानगरपालिकाका आफ्नै पाँच वटा ब्रुमर आउँदैछन् ।

२१) टुँडिखेल वरिपरिको जाम हटाउन पिक एण्ड ड्रप प्रणाली लागू गरिएको छ । केही गुनासो आए पनि नतिजा राम्रो देखिएको छ । कोटेश्वरको जाम हटाउन पनि स्थलगत अध्ययन शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL