Logo

किन खुला गर्दैन सरकारले नयाँ ट्याक्सी दर्ता ?, यस्तो छ रहस्य

किन खुला गर्दैन सरकारले नयाँ ट्याक्सी दर्ता ?, यस्तो छ रहस्य



काठमाडौं । सरकारले करिव ६ बर्षदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन । यातायात ब्यबस्था विभागले पछिल्लो समय भुकम्प पिडितका लागि भन्दै करिव १ हजार ८ सय ५० ओटा ट्याक्सीको दर्ता खोले पनि सर्वसाधारणका लागि नयाँ ट्याक्सी दर्ता खुला गरेको छैन । जथाभावी ट्याक्सीको दर्ता गरिँदा विभिन्न किसिमका समस्याहरु निम्तिन सक्ने भन्दै दर्ता रोकेको विभागका निर्देशक गोकर्ण प्रसाद उपाध्यायले बताए ।

तर मापदण्ड बनाएपछि पुनः नयाँ ट्याक्सीको दर्ता खोल्ने उपाध्यायले बिजखवरलाई बताए । ‘हामीले ट्याक्सी दर्ताको नयाँ मापदण्डलाई अन्तिम रुप दिएर मन्त्रालय पठाएका छौं,’ उनले भने, ‘मन्त्रालयलबाट यसका लागि स्विकृति आएपछि नयाँ दर्ता खोल्नेछौं ।’

२०५७ साल जेठ १७ गते बागमती अञ्चलमा ट्याक्सीको दर्ता बन्द भएको थियो त्यसबेला बागमति अञ्चल कार्यालयमा ट्याक्सीको जम्मा संख्या ७ हजार ५ सय थियो । तर हाल त्यो संख्या घटेर हाल पुराना ट्याक्सीहरु ५ हजार ५ सयमा झरेका छन् ।

सरकारले २०६९ साल माघमा बागमती यातायात अञ्चल कार्यालयले अहिले भएका ट्याक्सीले सेवा दिन नसक्ने, ट्याक्सी अपुग, सबै ट्याक्सीहरु थोत्रा भएको र यी ट्याक्सीले विदेशी पर्यटकमा पनि नेपालको नराम्रो छविले प्रभाव पर्ने भन्दै थप ५ हजार ओटा ट्याक्सी दर्ताका लािग यातायात ब्यवस्था विभागलाई स्वीकृती दिएको थियो ।

सोही प्रस्ताव विभागले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरी सोही आधारमा २०७१ साल भदौ १९ गतेको मन्त्रिपरिषद बैठकले यातायात मन्त्रालयको सचिव र विभागको महानिर्देशकको रोहवरमा देसभर बन्द रहेको ट्याक्सीको दर्ता कति खोल्नुपर्ने हो र कस्ता ट्याक्सी ल्याउनुपर्ने हो भनेर अध्ययन गर्नका लागि कमिटि गठन गरेको थियो ।

थप ट्याक्सी आउँदा ट्याक्सीको मूल्य घट्ने र भाडा पनि घट्ने भएपछि यातायात ब्यबसायीकै दवावमा उक्त कमिटिले कुनै पनि निर्णय गरेन ।

त्यसपछी २०७२ साल जेठ २८ गते मन्त्रीपरिषद निर्णयले ३ हजार ३ सय ५० ट्याक्सीका लागि दर्ता खोल्यो । उक्त निर्णयमा आम नागरिकलाई ७ सय, पुराना ट्याक्सी धनिलाई ६ सय ५० र चालक लाईसेन्स हुनेलाई ५ सय गरेर १८ सय ट्याक्सीको दर्ताका लागि साउन २० गतेदेखि भदौ २ गते सम्म १५ दिनका लागि सुचना जारी गर्याे । उक्त सुचनापश्चात १५ दिनमा १ हजार १० रुपैयाँ तिर्दै ट्याक्सी दर्ता गर्नका लागि १५ हजार ७ सय ५१ जनाले फारम भरेका थिए । त्यसपछि गोलाप्रथाबाट ट्याक्सी दियो ।

यस्तै भुकम्प प्रभावित १४ जिल्लाका भुकम्प पिडितलाई १५ सय ट्याक्सीको दर्ता खोलेको थियो । उक्त ट्याक्सी दर्ता गर्नका लागि ७३ साल साउन ५ गतेबाट भदौ ५ गतेसम्म १ महिनाको समय राखेर ट्याक्सीका लागि दर्ता खुलाएको थियो । उक्त ट्याक्सीका लागि १ महिनाको समयमा १ लाख ४९ हजार ५ सय ५८ जनाले फारम बुझाएका थिए । उक्त फारमका लागि भुकम्प पिडितलाई १ सय १० रुपैयाँ राजस्व तोकेको थियो ।

हाल ट्याक्सीको चढ्ने वित्तिकै १४ रुपैयाँ सेवाशुल्क र अन्य भाडा तोकिएको छ । यात्रुले त्यो रकम विनाकारण तिरिरहेका छन ।

असोज ७ गते नेपाल सरकारले ट्याक्सीको भाडा १० प्रतिशतले बढाउँदा हाल ट्याक्सीको भाडा प्रतिकिलोमिटर २६ रुपैयाँबाट ३९ पुर्याईयो । साथै सो भाडामा सेवासुल्कवापत १४ रुपैयाँ जोड्दा ५३ रुपैयाँ पुग्यो । यो त दिउँसोको मूल्य मात्रै हो तर राती ९ बजेबाट विहान ६ बजेसम्म १४ रुपैयाँको २१ र ३९ को ५८ रुपैयाँ गरेर प्रतिकिलोमिटर ७९ रुपैयाँ लिने गरेका यातायात अभियन्ता राम थापाले जानकारी दिए । उनका अनुसार हाल रहेको सेवा शुल्कको रुपमा लिने गरेको १४ रुपैयाँ नलिए पनि र प्रत्येक किलोमिटर ३९ रुपैयाँबाट २० रुपैयाँ गर्दा पनि ट्याक्सीलाई घाटा हुने देखिदैन । उल्टै फाईदा हुन्छ ।

हाल भएका ट्याक्सी ब्यबसायीले नयाँ ब्यबसायीलाई पनि आउन नदिने र भाडा घटाउन पनि नमान्ने हुनाले ट्याक्सीमा ज्यादती बढेको उनको भनाई छ । हालका ट्याक्सी धनिले आफ्नो एकाधिकारी प्रयोग गरिरहेका छन । नेपाल सरकारले र स्वयं यातायात ब्यबस्था विभागले पनि कोही हालको ट्याक्सी बजारमा प्रतिश्पर्धात्मक तरिकाले आउँछु भन्दा ट्याक्सीको दर्ता गर्न दिएको पाईँदैन । यसरी ट्याक्सी दर्ता खोलिदिँदा ट्याक्सीवालाहरुले पनि आफ्नो ब्यबसायलाई अगाडी बढाउन प्रतिश्पर्धात्मक तरिकाले बजारमा उत्रने उनले विश्वा ब्यक्त गरे ।

अहिले पनि ट्याक्सी ब्यबसायीहरुले विभिन्न बहानामा नयाँ ट्याक्सीको दर्ता नखोल्नका लागि मन्त्रालय तथा विभागमा पनि दवाव दिइरहेको पाईएको छ । हाल नेपाल सरकारले ट्याक्सीको नयाँ दर्ता खोलिदिएको खण्डमा १५ देखि २० लाखमा ट्याक्सी आउँछ । हाल असोज यता यातायात व्यबस्था विभागले २० बर्ष पुगेका ट्याक्सीको नंवर प्लेट नयाँ ट्याक्सीमा प्रयोग गरिरहेको पाईएको छ ।

अहिले बजारमा १५ लाखमा पाईने ट्याक्सीको मूल्य नंवर प्लेटकै कारण २५ लाख रुपैयाँसम्म पर्छ । जस्तै पुराना ट्याक्सी धनिले आफ्नो ट्याक्सीको नंवर प्लेट ९ देखि १० लाखमा बेच्ने गरेका छन । यस्तै हाल ट्याक्सीको परमिट उपत्यकामा मात्रै सिमित छ । यस्तै एयरपोर्टमा पनि २०५० सालमा २ सय ७ ओटा ट्याक्सी हुँदा यसको दर्ता बन्द भएको थियो । यस्तै २०७० सालमा त्यही पुराना ट्याक्सीहरु फालेर नयाँ ट्याक्सीमा पुरानो नंवर प्लेट हालियो । साथै एयरपोर्टमा चल्ने ट्याक्सीहरुमा मिटर पनि हालेको पाईँदैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL