Logo

फेसबुकबाट प्रेम नगर्नुस, यसरी फसिएला

फेसबुकबाट प्रेम नगर्नुस, यसरी फसिएला


रासस
297
Shares

काठमाडौं । फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस अन्यथा मैलेजस्तो दुःख पाउनुहोला, पाकिस्तानी जेलमा ६ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीमा बताएका छन ।

सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल अन्सारीले बताएका छन ।

तर सामाजिक सञ्जालमार्फत आफूले प्राप्त गरेको ठेगाना पछ्याउँदै अन्सारी पाकिस्तानी किशोरीको घरमा पुग्दा त्यहाँ पाकिस्तानी प्रहरी तैनाथ थिए र उनलाई त्यहीँबाट पक्राउ गरियो । पक्राउ पछि जासूसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा ६ बर्षको जेल सजाय तोकियो ।

अपरिचित व्यक्तिसँग भावनामा नडुब्नुस र फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत ‘माया जाल’ मा नफस्नुस, उनले भने । अन्सारीले आफू रिहा भई भारत फर्केको ३ दिनपछि एएफपीसँगको कुराकानीमा भने ।

पाकिस्तानी जेलमा ६ बर्षको बसाइपछि मंगलबार घर फर्किएका इन्जिनियर अन्सारीले भारतीय सीमानामा पुगेपछि भावुक मुद्रामा आफ्नी आमासँग गलामा गला जोडेको र जन्मभूमिलाई पुरै घोप्टो परेर ढोगेको श्रब्यदृश्य स्थानीय सञ्चारमाध्यमहरूले उच्च महत्वका साथ प्रशारण गरेका छन ।

एएफपीसँगको कुराकानीमा उनले भने, अब मैले एउटा व्यवसाय सुरु गर्छु । विवाह गर्छु । आफ्नो र परिवारको सुखमा रमाउँछु । मलाई थप सामाजिक बन्नु छैन ।

क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तानबीच सन १९४७ मा बेलायतबाट उनीहरू स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन । उनीहरूले फरक फरक समय र परिस्थितिमा एक अर्काका नागरिकलाई जासूसी आरोपमा पक्राउ गर्ने र थुन्ने बिषय सामान्यजस्तै देखिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL