Logo

पाइप लाइन निर्माण अन्तिम चरणमा, ३ महिनामा नेपालमा पाईपमार्फत तेल

पाइप लाइन निर्माण अन्तिम चरणमा, ३ महिनामा नेपालमा पाईपमार्फत तेल


रासस
0
Shares

काठमाडौं । नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलब दुई किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

तीव्र गतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउन सकिने बताउछन परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेल । उनले भने, ‘बाधा अवरोध नभए तीन महीनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउने पक्का छ । यसलाई समयमै सम्पन्न गर्न परियोजनाले सक्रियरुपमा कार्यलाई अगाडि बढाएको छ ।’

नेपालतर्फ अब १८ दशमलब २ किलोमिटर पाइप बिछ्याउने काम बाँकी रहेको छ । बाँकी रहेको भू–भागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा आठ किलोमिटर, नाला स–साना पुल–पुलेसा, नदी, क्रसिङ सडक, गण्डक क्षेत्रमा पाइप लाइन बिछ्याउन बाँकी रहेको छ । निकुञ्जभित्र रहेको करीब ५ हजार रुख काटने काम निकट भविष्यमै हुने तथा भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ किलोमिटरमध्ये मोतिहारी रक्सौल क्षेत्रमा टुक्राटुक्री काम बाँकी रहेको परियोजनाको कार्यालय सिमराले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको वीरगञ्ज भन्सारस्थित रजत जयन्ती चोक वाइपास क्षेत्रमा समेत पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । जीतपुर परवानीपुर क्षेत्रमा करीब २ किलोमिटर क्षेत्रमा बाधा अवरोध आएकाले सो क्षेत्रमा बोरिङ प्रविधिमार्फत पाइप गाड्ने काम भइरहेको पनि परियोजनाका इञ्जिनीयर पौडेलले बताए ।

नेपालको लाइफ लाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइप लाइन निर्माणको लागि भारत सरकारले ३ सय ५० करोड भारतीय रुपैयाँ लगानी गरेको छ । गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुतm रुपमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेका थिए । शिलान्यासपछि यस कार्यले गति लिँदै जमीनमुनि पाइप बिछ्याउने कामले तीव्रता पाएको हो ।

पथलैयादेखि अमलेखगञ्जसम्म ८ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइप लाइन जाने भएकाले निकुन्जभित्रका ५ हजार रुख काट्न सहमति भइसकेकाले चाँडै नै सो कामको थालनी गरिने परियोजना कार्यालय सिमराले जनाएको छ ।

पाइप लाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नको लागि अमलेखगञ्ज आयल निगमको डिपोमा ३ हजार ९ सय किलोलिटर क्षमता भएको दुई तथा ४ हजार १ सय किलोलिटर क्षमता भएको दुई वटा गरी चार टयाङ्करको मर्मतसम्भार दु्रत गतिमा भइरहेको छ । एउटा टयाङ्कर तयार भइसकेको छ भने तीन वटा टयाङ्कर बनाउने काम भइरहेको बताइएको छ ।

तीन महीनाभित्र निर्माण कार्य सकी सञ्चालनमा ल्याउने लक्ष्य लिएको सो पाइप लाइन निर्माण सम्पन्न भएपछि पटनाबाट प्रतिघण्टा २ सय ५० लिटर पेट्रोलियम पदार्थ पाइप लाइनबाट भित्रिने छ । पहिलो चरणमा परीक्षणको रुपमा डिजेल आउने बताइएको छ ।

जमीनमुिन साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकाले खिया भने लाग्दैन । यो प्रोजेक्ट सञ्चालनमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारहरुले लिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL