Logo

काठमाडौंमा सवारी जामले आजित हुनुभएको छ ?, यसरी तपाईँ हामीले नै निम्त्याउँछौ जाम

काठमाडौंमा सवारी जामले आजित हुनुभएको छ ?, यसरी तपाईँ हामीले नै निम्त्याउँछौ जाम



काठमाडौं । काठमाडौंको सडकमा यात्रा गर्ने सवारीसाधनहरु जाममा नपरेका विरलै होलान । त्यसमा पनी सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुले यस्तो जामको समस्या धेरै भोग्नुपरेको पाइन्छ । कहिलेकाहीँ ट्राफिक जामले यात्रुहरुको कार्यालय ढीला हुने, महत्वपुर्ण काम जस्तै परिक्षा, अन्तर्वार्ता लगायतका काम छुट्ने समस्या हुने गरेको पाईन्छ । अझ स्कुले छात्रछात्राहरु भने ट्राफिक जामको सबैभन्दा धेरै मारमा पर्ने गरेको पाईन्छ । यसरी सार्वजनिक सवारी साधन सडकमा जाममा पर्नाले विभिन्न किसिमका समस्या निम्त्याउने त छदैंछ महत्वपुर्ण कामहरु पनि नहुने कतिपयको गुनासो सुन्न पाईन्छ ।

नेपालभर हालसम्म दर्ता भएका सवारीसाधनमध्ये ११ लाख ७२ हजारओटा सवारीसाधनहरु बाग्मती अञ्चललमा मात्रै दर्ता भएका छन । यातायात ब्यवस्था विभागको तथ्यांक अनुसार हालसम्म नेपालभर कुल ३२ लाख २१ हजार सवारीसाधनहरु दर्ता भएका छन । त्यसमा पनि हालको प्रदेश नं ३ अर्थात बाग्मती अन्चलबाट मात्रै साना तथा ठुला गरी जम्मा ११ लाख ७२ हजार अर्थात ३६ प्रतिशत सवारीसाधनहरु यहाँ दर्ता भएका छन ।

उक्त ३६ प्रतिशत सवारी साधनहरु पनि प्रायजसो काठमाडौं उपत्यकाको सडकमा मात्रै गुड्ने गर्दछन । तथ्यांक अनुसार आर्थिक बर्ष २०७४–७५ मा मात्रै बागमती अञ्चलमा १ लाख २९ हजार ५ सय ५७ ओटा सवारीसाधनहरु दर्ता भएका छन । त्यसमा पनि सबैभन्दा धेरै २ पाँग्रे अर्थात मोटरसाईकल दर्ता भएका हुन । तथ्यांक अनुसार सो बर्ष मोटरसाईकल मात्रै १ लाख ४ हजार ४ सय ४४ ओटा दर्ता भएका छन ।

काठमाडौं उपत्यकामा ट्राफिक जाम निम्त्याउनमा मोटरसाईकलको भुमिका रहने विश्लेषकहरुले विश्लेषण गर्ने गरेका छन । खासगरी काठमाडौंको रिङरोडमा हुने गरेको जामका कारण प्रायजसो यात्रुहरु मारमा पर्ने गरेका र आजित हुने गरेको पाईन्छ । तर सडक विभागले उपलब्ध गराएको तथ्यांक अनुसार काठमाडौंभरी जम्मा ३ सय २६ दशमलव ६ किलोमिटर सडक छ । जसमा हाल ७ देखि ८ लाखसम्म सवारीसाधनहरु गुड्ने गरेका यातायात व्यबस्था विभागले जानकारी दिएको छ ।

विभागका अनुसार पिक आवर जस्तै विहान ९ देखि १० बजे र बेलुका ३ देखि ६ बजेसम्म करिव ४ लाखओटा सवारीसाधनहरु काठमाडौंको सडकमा गुड्ने गरेका छन । त्यसमा पनि कतिपय सडकहरुका सडकपेटीमा फुटपाथ पसल संचालन गरेका हुनाले फुटपाथमा हिड्ने मानिसहरु सडकमा ओर्लेर हिँड्छन । यसरी हिँडेपछी केही मात्रामा सवारीसाधनलाई आवतजावतमा अवरोध सिर्जना हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जानकारी दिएको छ ।

सडकको साईटमा पनि केहि मात्रामा मोटरसाईकल लगायतका साना कार तथा साना अन्य निर्माण कार्यका लागि प्रयोग हुने सवारीसाधनले गर्दा पनि केहि मात्रामा ट्राफिक जाम निम्तिने गर्दछ । त्यस्तै कार्यालय समयमा प्रायजसो चोकहरुको सबै सडकबाट उत्तिकै मात्रामा सवारीसाधनहरु आवतजावत गर्ने हुँदा ट्राफिक जाम बढ्ने गरेको पाईन्छ । कतिपय स्थानका सडकहरुमा खाल्डाखुल्डी तथा अन्य कुनै किसिमका अवरोध आएमा पनि जाम बढ्ने उत्तिकै सम्भावना रहन्छ ।

दिनानुदिन सडकमा आवतजावत गर्ने सवारीससाधनहरुको संख्या बढ्दै जाने र सडकको लम्बाई तथा चौडाइ यथावत रहने हो भने अबको ४ बर्षमा काठमाडौंको सडकमा सवारी हल्लीन नपाउने गरी जाम हुनेछ । यस्तो किसिमको समस्याबाट मुक्ती पाउन सडक तथा सवारीसाधन सम्बन्धी विभिन्न निकाय तथा सरोकारवालाहरुले समयमै ध्यान दिन जरुरी देखिन्छ । विभिन्न सडकहरु चौडा गर्ने काम, आवस्यक स्थानमा पुलहरु थप्ने काम, उपत्यका भित्र रहेका विभिन्न नदीजन्य करिडोरहरुको संचालन, आवस्यक ओभरहेड व्रीज, अन्डरपास लगायतका उपायहरुको प्रयोग गरी ट्राफिक जामलाई न्युनीकरण गर्न सकिने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL