Logo

साढे ११ हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन, ५ हजार रुपैयाँ जरिवाना तिर्दै

साढे ११ हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन, ५ हजार रुपैयाँ जरिवाना तिर्दै


रासस
54
Shares

काठमाडौं । नेपालभरका करिव साढे ११ हजार शिक्षकले आफ्नो सम्पत्ति विवरण बुझाएको छैनन । विद्यालय शिक्षक किताबखानाका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा करीब ११ हजार ६ सय २३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् ।

करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४ सय ८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले जानकारी दिए ।
शिक्षकलाई साउनदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन अन्तिम समयसीमा तोकिएको थियो । उनका अनुसार स्थायी शिक्षकले किताबखाना र अस्थायी शिक्षकले जिल्लास्थित जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयमा बुझाउने छन् ।

भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा प्रत्येक वर्ष सार्वजनिक पद धारण गरेको व्यक्तिले आव शुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

उनले सङ्कलन गरिएको सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइएको बताए । ऐनअनुसार सम्पत्ति विवरण नबुझाउनेलाई केन्द्रको सिफारिशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेको छ ।

उपनिर्देशक बुढाप्रिथीले करीब ४ हजार शिक्षकले आफ्नो सङ्केत नम्बर गलत भरेर बुझाएको जानकारी दिए । उनका अनुसार आव २०७३÷०७४ मा ११ हजार ४ सय ५५ शिक्षकले सम्पत्ति विवरण बुझाएनन् ।

मुलुकभरि करीब १ लाख ७ हजार ८ सय ५३ स्थायी र अस्थायी शिक्षक रहेको किताबखानामा विवरण छ । गत वर्ष ४ हजार ४ सय ३० शिक्षकले गलत सङ्केत नम्बर भरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL