Logo

नेपालसँग कृषि र लगानी संरक्षण सम्बन्धी सम्झौता गर्दै कतार, कृषि र पर्यटनमा लगानी गर्न चेम्बरको आग्रह

नेपालसँग कृषि र लगानी संरक्षण सम्बन्धी सम्झौता गर्दै कतार, कृषि र पर्यटनमा लगानी गर्न चेम्बरको आग्रह



कतारले नेपालसँग कृषि र लगानी संरक्षण सम्बन्धी सम्झौता गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित ‘ब्यापार, पर्यटन, लगानी तथा श्रमको दृष्टिकोणबाट नेपाल–कतार आर्थिक सम्बन्धका सम्भावना र अवसर’ सम्बन्धी कार्यक्रममा बोल्दै नेपालका लागि कतारका राजदूत युसुफ विन अल हेलले सो कुरा बताएका हुन् ।

साथै आगामी दिनमा नेपालका कतारसँगको ब्यापारघाटा कम गर्न नयाँ कदम चाल्ने समेत उनले जानकारी दिए । ‘अहिले कतारको श्रम बजारमा ४ लाखभन्दा बढी नेपालीहरु कार्यरत छन् जसबाट हरेक बर्ष करिब २ खर्ब नेपाली रुपैयाँ नेपाल भित्रिरहेको छ,’ उनले भने, ‘जसले गर्दा नेपालको अर्थतन्त्रमा टेवा पुर्याएको छ ।’ नेपाल र कतारबीच ’कतार ऐयर वेज’ दैनिक हुने ५ वटा उडानले दुई देशको कनेक्टिभीटीको अवस्थालाई मजबुद बनाएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र कतार दुवै देशहरु प्राकृतिक श्रोतमा धनी भएको हुँदा ब्यापार, पर्यटन, कृषि तथा मानबीय श्रोतको परिचालनमा लगानी गर्न आग्रह गरे । साथै दुई देशबीच आपसी सहकार्यमा प्रचुर सम्भावना र अवसर रहेकोले त्यसको सदुपयोग गर्नुपर्ने समेत उनको भनाई थियो । नेपाल–कतार ब्यापारलाई सन्तुलनमा ल्याउने कुरा मुख्य प्राथमिकताको बिषय भएको र सोही अनुसार कृषि, पर्यटन र उद्योगमा कतारबाट नेपालमा भैरहेको लगानीमा वृद्धि गर्नुपर्ने उनको माग थियो ।

नेपालमा स्थिर सरकार बनेको र वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन गम्भीर देखिएकोले कतारका लगानी कर्ताहरुले नेपालमा लगानी बढाउने सही समय भएको समेत उनले जानकारी दिए ।
कार्यक्रममा पर्यटन, लगानी र श्रमको बिषयमा क्रमश नेपाल होटल संघका महासचिव विनायक शाह, चेम्बरकै अर्का उपाध्यक्ष नरेश श्रेष्ठ र बैदेशिक रोजगार बिभागका शाखा अधिकृत रन्जन प्रसाद तिमिल्सैना ले छुट्टा–छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु सहित चेम्बरसंग आबद्ध करिव ८० जना भन्दा धेरैको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL