Logo

बन्द भएको कलंकीको अन्डरपास अर्काे हप्ता संचालनमा आउने, दशैंका लागि पुर्ण रुपमा खुला

बन्द भएको कलंकीको अन्डरपास अर्काे हप्ता संचालनमा आउने, दशैंका लागि पुर्ण रुपमा खुला



काठमाडौं । कलंकीस्थित चक्रपथ अन्तरगतको अन्डरपास अर्काे हप्तादेखि संचालनमा आउने भएको छ । एकपटक संचालनमा ल्याएर अन्डरपासको पिच गर्नका लागि बन्द गरिएको नेपालकै पहिलो उक्त अन्डरपास आगामी हप्ताको बुधबारसम्ममा संचालनमा आउने सो आयोजनाका प्रमुख प्रकास भण्डारीले जानकारी दिए ।

चिनियाँ ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले अनुदान रकममा बनाएको उक्त अन्डरपास विगत १ हप्तादेखि बन्द रहेको कोटेश्वर कलंकी सडकखण्डका ईन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए ।

उनका अनुसार पिच नगरेरै सञ्चालनमा ल्याईएको उक्त अन्डरपास दशैं नजिकिँदै गर्दा पुर्ण मर्मतसम्भार गरेर संचालनमा ल्याउनका लागि बन्द गरिएको हो । दशैंमा यात्रु अनुसार सवारीसाधनको चाप पनि उत्तिकै हुनेहँुदा ट्राफिक जाम घटाउने लक्ष्यसहित अन्डरपासको पिच गर्ने काम अघि बढाईएको हो ।

पिच गर्ने काम अन्तिम चरणमा पुगिसकेको र अबको ४ दिनमा भित्रमा पुनः सँचालनमा ल्याउने गरि काम भईरहेको ईन्जिनियर शर्मा अर्यालले बताए । दशैंलाई लक्षित गर्दै उक्त कामको तिव्रता बढाईएको पनि जानकारी दिएका छन । ‘दशैं सम्ममा भने जस्तो सुकै समस्या आईपरेपनि अन्डरपास सुचारु गर्ने गरि काम गरिरहेका छौं,’ उनले भने ।

यसअघि भदौ १ गते देखि उक्त अन्डरपास पहिलो पल्ट संचालनमा ल्याईएको थियो । संचालमा आएको ५ दिनपछि नै धुलो सफा गर्नको लागि बन्द गरिएको अन्डरपास पुनः संचालनमा ल्याई १ महिनासम्म खुला गरिएको थियो ।

कलंकी स्थित अन्डरपास फेरी बन्द भएसँगै ट्राफिक जामको समस्या पहिलेकै अवस्थामा पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अन्डरपास खुलेदेखि पुर्ण सहज भएको ट्राफिक व्यबस्थापन पुनः अन्डरपास बन्द भएपछि पहिलेकै अवस्थामा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL