Logo

प्रहरी लगाएर पेट्रोलियम ढुवानी ट्याङ्कर कब्जा गरिने, आफ्नै ट्याङ्कर र ड्राईभर राख्ने निगमको निर्णय

प्रहरी लगाएर पेट्रोलियम ढुवानी ट्याङ्कर कब्जा गरिने, आफ्नै ट्याङ्कर र ड्राईभर राख्ने निगमको निर्णय



काठमाडौं । नेपाल आयल निगमले हड्तालमा उत्रिएका पेट्रोलियम ढुवानी ट्याङ्कर कब्जा गर्ने भएको छ । पेट्रोलियम ढुवानी गर्ने चालक तथा ट्याङ्कर धनीले आपसी मिलेमतोमा अत्यावश्यक बस्तुको आपूर्तिमा अवरोध हुने गरी हड्ताल गरेपछि अब प्रहरी लगाएर उनीहरुको ट्याङ्कर जफत गर्न लागिएको नेपाल आयल निगमका निमित्त प्रवन्ध निर्देशक सुशिल भट्राईले बिजखबर जानकारी दिए । ‘हड्तालमा उत्रने तथा ट्याङ्कर थन्क्याएर बस्ने सबैको जफत गर्न प्रहरी तथा सम्बद्ध निकायलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘अहिले निगमसँग डिपोमा पेट्रोल हुँदाहुँदै पनि ड्राइभर र सवारी धनीको मिलेमतोमा हड्ताल गरेर कृत्रिम अभाव खडा गरेका छन् । उनीहरु सबैको ट्याङ्कर नियन्त्रणमा लिइनेछ ।’

निगमले अबदेखि आफ्नै ट्याङ्कर चालक राख्ने गरी अघि बढेको समेत उनले जानकारी दिए । ‘यस अघि करारमा ट्याङ्कर र ड्राईभर नियुक्त गर्दा हामीले नराम्रो धोका पायौं,’ उनले भने, ‘यस अघि हाम्रो प्राथमितामा पेट्रोलियम भण्डारण थियो अब ट्याङ्कर र चालक पर्न गएको छ ।’ साथै एकपटक जफत गरिएको ट्याङ्कर पुनः सोही व्यक्तिलाई नदिने समेत भट्टराईले जानकरी दिए ।

हाल निगमले पेट्रोलियम ढुवानीका लागि आफैले ड्राईभर तयार गरेको र केही ट्याङ्कर समेत तयारी अवस्थामा राखिएको भट्टराईले जानकारी दिए । ‘सरकारले ल्याउन लागेको विधेयकको विरोधमा पेट्रोलिमय पदार्थजस्तो अत्यावश्यक बस्तुमा हड्ताल गर्नु एकदमै खेदजनक छ,’ उनले भने, ‘अब ज–जस्ले हड्ताल गरेर पेट्रोलिमय ढुवानी गर्दैनन् उनीहरुको जफत गरेर सम्झौता नै खारेज गरिने छ ।’ साथै हड्तालमा उत्रने ड्राईभरको पनि सम्झौता रद्द गरिने भएको छ ।

निगमले तत्कालका लागि पेट्रोलियम भण्डारणभन्दा आफ्नै ट्याङ्कर र ड्राईभर राख्ने विषयलाई प्राथमिकतामा राख्ने पनि उनले जानकारी दिए । ड्राईभर हड्तालका कारण पेट्रोलियम ढुवानी तथा वितरणमा समस्या भएसँगै काठमाडौंमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । विगत ४ दिनदेखि भारतबाट पेट्रोल ढुवानी गर्ने तथा डिपोबाट वितरण गर्ने ड्राईभरहरु आन्दोलनमा उत्रिएसँगै पेट्रोलियम पदार्थको सङ्कट भएको हो ।

ड्राईभरले हड्ताल गरेपछि बुधबारदेखि नै राजधानीका पेट्रोल पम्पमा लाईन बढेकोमा शुक्रबार अधिंकाश पम्पहरु बन्द रहेका छन् । काठमाडौं उपत्यकामा सञ्चालित सेना, प्रहरी तथा साझाको पेट्रोल पम्पमा लामो लाईन रहेको छ भने निजी क्षेत्रबाट सञ्चालित पम्पहरु बन्द रहेका छन् ।

हाल निगमसँग ४५ हजार ३ सय ९७ किलोलिटर डिजल तथा पेट्रोल मौज्दात रहेको छ । काठमाडौंमा मात्रै ५ हजार केएल डिजल र ३ हजार केएल पेट्रोल मौज्दात रहेको छ । तर ड्राईभर हड्तालका कारण निगमको डिपोमा पेट्रोलियम पदार्थ हुँदाहुँदै पनि वितरण गर्न नसकिएको भट्राईले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL