Logo

कर्मचारीको कार्यक्षमतालाई दोब्बर बनाउन प्रमको निर्देशन, ढिलासुस्ती र अनियमितताको गुनासो सुन्नु नपरोस

कर्मचारीको कार्यक्षमतालाई दोब्बर बनाउन प्रमको निर्देशन, ढिलासुस्ती र अनियमितताको गुनासो सुन्नु नपरोस


रासस
81
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीलाई कार्यक्षमता दोब्बर बनाउन निर्देशन दिएका छन् । १५ औं निजामती सेवा दिवसको अवसरमा बोल्दै उनले हाल कर्मचारीको कार्यक्षमता एकदमै न्युन भएको भन्दै कार्यक्षमता बढाउन निर्देशन दिएका हुन् ।

‘हामी सँग सबै छ । विषयगत कर्मचारीको अभाव हुनसक्छ तर मुलुकको उत्पादकत्व बढाउने गरी कर्मचारीले काम गर्ने ठाउँ छ,’ उनले भने, ‘एक हप्तामा हुने कामलाई दुई हप्ता पुर्याएर जनतालाई दुख दिने प्रवृति अब हटनु पर्छ ।’ अबका दिनमा जनताबाट ढिलासुस्ती र अनियमितताको गुनासो सुन्न नपर्नेगरी काम गर्न समेत निर्देशन दिएका छन् ।

प्रम ओलीले लोकतन्त्रका नाममा सरकारी तलब लिएर काम नगर्ने, उपयुक्त ढङ्गले खटाएका ठाउँमा नजाने, विरोध हडताल गर्ने संस्कार अन्त्य गरी राष्ट्र निर्माणको सङ्कल्प पूरा गर्न समेत निर्देशन दिएका छन ।

सङ्घ, प्रदेश र स्थानीय सरकारमा नयाँ प्रणाली लागू भएकाले अधिकारको व्यवस्थान र कार्यान्वयनका सन्दर्भमा अन्योल भए पनि सरकारले त्यसलाई क्रमशः मिलाउँदै जाने प्रम ओलीको भनाई रहेको छ ।

दक्ष, प्रभावकारी र नतिजामुखी प्रशासन र सेवाका लागि नयाँ निजामती कानून ल्याउन लागेकाले कर्मचारीको सुरक्षा, वृत्ति विकास लगायत सुनुवाईको लागि सबै कर्मचारीका लागि सोही कानुनले काम गर्ने प्रम ओलीले जानकारी दिएका छन । प्रम ओलीले आधिकारिक ट्रेड युनियन कानूनी हैसियतको संस्था भएकाले ट्रेड युनियन सङगठन यथावत रहने स्पष्ट पारेका छन ।

कार्यक्रममा सङघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङघीय निजामती सेवा ऐन प्रतिनिधिसभामा पेश गर्न मन्त्रिपरिषद्दमा विचाराधीन रहेको जानकारी दिँदै तीन तहका सरकारबीचको व्यवस्थापनका क्रममा जस्तोसुकै कठिन काम पनि सहजरुपमा गर्न राष्ट्रसेवकलाई आग्रह गरेका छन ।

सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले परिवर्तित सन्दर्भमा कर्मचारी प्रशासनको जनअपेक्षा अनुरुप काम गरी नतिजा दिनु पर्ने बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL