Logo

काठमाडौं महानगरले घटायो घरबहाल कर, आम्दानीको स्रोत नभएकाले तिर्न नपर्ने

काठमाडौं महानगरले घटायो घरबहाल कर, आम्दानीको स्रोत नभएकाले तिर्न नपर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल कर घटाएको छ । महानगरले यसअघि घरबहाल करबापत बार्षिक १२ प्रतिशतका दरले लिँदै आएकोमा त्यसलाई परिमार्जन गर्दै १० प्रतिशतमा झारेको हो ।

यसैगरि महानगरले न्युन आय भएका र आम्दानीका अन्य स्रोत नभएका घरधनीलाई घरबहाल करमा समेत छुट दिएको छ । सो ब्यवस्था अनुरुप बार्षिक १ लाख रुपैयाँभन्दा तल घरभाडा उठाउने र अन्य कुनै आम्दानीका स्रोत नभएका करदाताले घरबहाल कर तिर्नुपर्ने छैन ।

महानगरले घरजग्गा करमा पनि परिमार्जन गरेको छ । यस अघि लिँदै आएको घरजग्गा कर न्युनतम ९ सय रुपैयाँलाई परिमार्जित गर्दै सम्पत्तिको न्युनतम दर १ करोड मूल्य बराबर प्रति १० लाखको १ सय रुपैयाँ तिर्नुपर्ने बनाएको छ ।

साथै रजिष्ट्रेशन मूल्यको आधारमा कर असुली गर्ने प्रक्रिया पनि खारेज गरेको कामपाले जानकारी दिएको छ । विसं २०७२/७३ लाई आधार बर्ष मानी सो भन्दा अगाडिको व्यवसाय कर छुट प्रदान गरिएको छ ।

साथै विभिन्न सिफारिस लिन भने कामपावासिले निशुल्क पाउने भएका छन । जसमा छात्रवृत्ति सिफारिस, नागरिकता सिफारिसलगायत अन्य ९ ओटा सेवाको लागि सिफारिस निशुल्क लिन पाउने व्यवस्था कामपाले मिलाएको छ ।

तर बैवाहिक अगींकृत नागरिकता सिफारिस लिन भने पहिले तिर्दै आएको १० हजारलाई रुपैयाँलाई घटाएर हाल २ हजार ५ सय लागु गरिएको छ । ब्यवसाय बन्द सिफारिस पनि अव १ हजारमै हुने भएको छ । उक्त सिफारिसका लागि कामपावासिले हालसम्म २ हजार रुपैयाँ तिर्दै आएका थिए ।

यसका साथै जग्गा दर्ता सिफारिस अव ३ हजारमै हुने भएको छ । यसभन्दा अगाडि कामपाले जग्गा दर्ता सिफारिसस्वरुप लिँदै आएको ५ हजारबाट २ हजार घटाएर ३ हजार रुपैँया कायम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL