Logo

स्मार्ट लाईसेन्स वितरणमा एग्रेसिभ हुँदै विभाग, कार्ड छाप्न बजारमा भएका प्रिन्टर उठाउँदै

स्मार्ट लाईसेन्स वितरणमा एग्रेसिभ हुँदै विभाग, कार्ड छाप्न बजारमा भएका प्रिन्टर उठाउँदै



काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्स वितरणलाई एग्रेसिभ रुपमा अगाडि बढाउने भएको छ । विभागसँग भएका मेशिनले हालको मागलाई सम्बोधन गर्न नसक्ने भएपछि कार्ड छाप्नको लागि नेपालमै भएका अन्य मेशिन समेत प्रयोगमा ल्याउने भएको हो ।

हाल विभागले नेपालमै भएका अन्य स्मार्टकार्ड छाप्ने मेशिनबाट स्मार्ट लाइसेन्स छपाइका लागि टेन्डर आह्वान गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए । ‘विभागले स्मार्ट लाईसेन्स कार्ड वितरण तीव्रता दिन नेपालमा स्मार्ट कार्ड छपाई गर्ने सबै कम्पनीलाई छलफलमा बोलाएका छौं,’ उनले भने, ‘केही समयभित्रै टुङ्गो लगाएर कार्ड छपाईलाई तीब्रता दिईनेछ ।’ त्यसरी कार्ड छपाई गर्दा सम्बन्धित कम्पनीहरुले सिमित समयसम्मका लागि विभागमै मेशिन ल्याएर कार्ड छाप्नुपर्ने समेत उनले जानकारी दिए ।

उनका अनुसार त्यसरी कम्पनीबाट ल्याईएका मेशिनले कम्तीमा १ महिनासम्म विभागमै मेशिन ल्याएर हालसम्म पेण्डिङ्मा रहेका कार्ड छाप्नुपर्ने सर्तका साथ आह्वान गरिएको महानिर्देशक ढकालले जानकारी दिए । ‘प्रायःजसो कम्पनीले घण्टाको ५ सय ओटा कार्डहरु छाप्न सक्ने उल्लेख गर्दै विभागमा निवेदन दिएका छन्,’ उनले भने, ‘त्यसमा पनि कसको गुणस्तर राम्रो, कति समयमा कति काम गर्न सक्छ तथा लागतका हिसावले कम मूल्यमा कसले कार्डहरु छाप्न सक्छ सोही कम्पनीलाई कार्ड छपाईको जिम्मा दिईनेछ ।’

विभागले अघि ल्याएको नयाँ योजनाले हालसम्म सवारी लाईसेन्सका लागि दिएका आवेदनको सबै कार्डहरु समयमै वितरण गर्न सकिने समेत उनले बताए । ‘हाल वितरण गर्न बाँकी लगभग ७ लाखको हाराहरीमा स्मार्ट लाईसेन्स छन,’ उनले भने, ‘विभागमा भएका मेशिनहरुबाट छाप्न ढिलो हुने तथा नयाँ मेशिन ल्याएर छपाई गर्दा पनि समय लाग्ने भएकाले नेपाली कम्पनीमा भएका मेशिनबाट कार्ड छापेर वितरण गर्न लागेका हौं ।’

हाल स्मार्ट लाईसेन्सको दैनिक माग १० देखि १२ हजारसम्म भएपनि विभागमा भएका ८ ओटा प्रिन्टरबाट दैनिक ३ देखि ४ हजारसम्म स्मार्ट कार्ड छापिँदै आएको छ । उक्त प्रिन्टरहरु पनि पुराना भईसकेकाले कहिले बिग्रने तथा कहिले बन्द हुने हुनाले स्मार्ट लाईसेन्स छपाईमा ढिलाई भएको हो । हाल स्मार्ट लाईसेन्स लिनका लागि सेवाग्राहीहरु १ बर्षसम्म कुर्नुपर्ने अवस्था छ ।

पछिल्लो समय दैनिकजस्तो स्मार्ट लाईसेन्सका लागि आवेदन दिनेको संख्यामा बृद्धि भएसँगै कार्ड वितरणमा दबाब परेको समेत विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL