Logo

वीच्याटबाट हुण्डी कारोबार गर्नेमाथी प्रहरीको निगरानी, ५३ लाख सहित ५ जना पक्राउ

वीच्याटबाट हुण्डी कारोबार गर्नेमाथी प्रहरीको निगरानी, ५३ लाख सहित ५ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय वीच्याट, ह्वाट्स एपलगायत सामाजिक संजालमार्फत हुण्डी कारोबार गर्नेमाथी थप निगरानी बढाएको छ । त्यस्ता सामाजिक संजालमार्फत हुण्डी कारोबार हुने गरेको थाहा हुन आएपछि अनुसन्धान गर्दै प्रक्राउ गर्न थालेको हो ।

वीच्याट तथा ह्वाट्सएप लगायतका सामाजिक संजालमार्फत हुण्डी गरिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले हिजो ५३ लाख १९ हजार नगदसहित ५ जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले न्यरोड र कुलेश्वरबाट ५ जना हुण्डी कारोबारीलाई नगद सहित पक्राउ गरेको महानगरीय अपराध महाशाखा प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । ‘हामीले केही समययता सामाजिक संजालमार्फत हुण्डी कारोबार गर्नेमाथी उच्च निगरानी बढाएका छौं,’ उनले भने, ‘पछिल्लो १ महिनाकोबीचमा २ पटक त्यस्ता हुण्डी कारोबारी पक्राउ परिसके ।’

महाशाखाबाट खटिएको टोलीले समाजिक संजालमार्फत हुण्डी कारोबार गर्ने भारतका ४५ वर्षीय विजय गुप्ता, २९ वर्षीय अंकित अग्रवाल, ललितपुरका २३ वर्षीय दीपक श्रेष्ठ, धनकुटाका १८ वर्षिय पुजन छाला जिमी र चितवनका २९ वर्षीय संजित पाण्डेलाई आज पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा छापा मार्दा उनीहरुसँग नगद, चेक र विभिन्न बैंकका हस्ताक्षर गरी राखिएका चेकबुक, हुण्डी कारोबारसहितको विवरण, हुण्डी कारोबार गरिएका कागजात बरामद गरेको छ ।

पक्राउ परेका गुप्तासँग ३४ लाख ६८ हजार, अग्रवालसँग ५ लाख ७ हजार, श्रेष्ठसँग ९ लाख ९० हजार, जिमीसँग २३ हजार र पाण्डेसँग ३ लाख ३१ हजार नगद बरामद गरिएको सिंहले जानकारी दिए । उनीहरुबाट २३ लाख १३ हजारको चेकसमेत बरामद भएको छ ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको समेत उनले जानकारी दिए ।

यस अघि पनि महाशाखाले वीच्याट र ह्वाट्स एपमार्फत हुण्डी कारोबार गर्ने ७ जनालाई पक्राउ गरी राजस्व अनुसन्धान विभाग पठाएको थियो । हाल उनीहरुलाई ४ करोड रुपैयाँ धरौटीमा छाडिएको विगभाले जानकारी दिएको छ । साथै उनीहरुमाथी थप अनुसन्धान भइरहेको समेत विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL