Logo

नारायणगढ—मुग्लिन सडकको कालोपत्रे सम्पन्न, अव चौबिसै घण्टा सञ्चालन

नारायणगढ—मुग्लिन सडकको कालोपत्रे सम्पन्न, अव चौबिसै घण्टा सञ्चालन


रासस
81
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सबैजसो भागमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको जानकारी दिएका हुन ।

सडकको सवैजसो भाग कालोपत्रे भएसंगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकोमा आजदेखि सवारी नरोकिने खनालले बताए । उनका अनुसार दोस्रो तह ३२ दशमलब ७ किलोमिटर र तेस्रो तह १२ दशमलब ७ किलोमिटर कालोपत्रे गरिएको छ । पहिलो र दोस्रो तहमा ६÷६ सेन्टिमिटर र तेस्रो तह चार सेन्टिमिटर बाक्लो हुनेछ । उच्च स्तरको कालोपत्र भएकाले पहिलो तह सम्पन्न भएसँँगै पहिरोबाहेक अन्य जोखिमबाट सडक मुक्त भएको हो ।

सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगा सम्मको १० दशमलब ४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभिको पहिलो र दोस्रो तह पूरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ । सो सडक खण्डको कालोपत्र र सडक सुरक्षाको काम मात्रै बाँकी रहेको खनालले जानकारी दिए ।

दोस्रो खण्ड दासढुंगादेखि सिमलताल सम्मको १० दशमलव ६९ किलोमिटर सडकको अधिकांश काम सम्पन्न भएको छ । सो खण्डमा उड्हिल लामा जेभीले निर्माणको जिम्मा पाएको थियो । सो खण्डको प्रगति ९७ दशमलब ५० प्रतिशत भएको छ । एक वर्षसम्म काम हेर्नु पर्ने भएकाले प्रगति शत्प्रतिशत हुन एक वर्ष कुर्नुपर्ने हुन्छ ।

तेस्रो खण्ड सिमलतालदेखि मुग्लिन सम्मको १२ दशमलब १५ किलोमिटर हो । सो खण्डको प्रगति ८५ प्रतिशत भएको सूचना अधिकारी खनालले बताए । सो खण्डको दोस्रो तह ११ दशमलब ८० किलोमिटर सम्पन्न भएको छ भने तेस्रो खण्ड पूरै बाँकी रहेको छ । तेस्रो खण्डमा कालोपत्र, रोड एङ्करिङ् र सडक सुरक्षाको काम बाँकी रहेको खनालले जानकारी दिए । मौसम अनुकूल भएमा एक दिनमा दोस्रो र तेस्रो तहको कालोपत्र एक किलोमिटर गर्न सकिने भएकाले लामो समय नलाग्ने उनले बताए ।

चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको मे १० मा म्याद सकिएको छ भने दोस्रो खण्डको २० मे र तेस्रो खण्डको ३० मे २०१८ मा सकिएको छ । हालसम्म सो सडकको समग्र प्रगति ९१ दशमलव पाँच प्रतिशत भएको छ । काम बाँकी रहेकाले समय थप गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात् बढी भएका कारण समय थप गरिँदै आएको छ । कालोपत्र गर्ने काम सम्पन्न भएसँगै पहिरो झर्ने र गाडी बिग्रिने नभएमा एक घण्टा भित्रमा सो सडक पार गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख सन्तोष पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL