Logo

नीति तथा कार्यक्रममाथि कांग्रेसको आरोप, लगानी आकर्षित गर्ने कार्यक्रम समेटिएन

नीति तथा कार्यक्रममाथि कांग्रेसको आरोप, लगानी आकर्षित गर्ने कार्यक्रम समेटिएन



काठमाडौं । सरकारद्वारा प्रस्तुत भएको आर्थिक बर्ष २०७५-७६ को नीति तथा कार्यक्रममाथिको छलफल आजबाट प्रतिनिधिसभामा शुरु भएको छ । समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ ल्याइएको सो नीति तथा कार्यक्रममाथी आजदेखि छलफल सुरु भएको हो ।

सरकारले आगामी १० वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका कोटीमा स्तरोन्नति गर्ने लक्ष्य राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममाथि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभामा) आजदेखि लगातार तीन दिनसम्म छलफल हुने कार्यसूचीे छ ।

उक्त नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रारम्भिक प्रतिक्रियामा असल निबन्धको संज्ञा दिएको छ, भने सत्तारुढ दलले जनताको आर्थिक समृद्धि र विकासमुखी रहेको स्पष्ट गरेको छ ।

सरकारले नीति तथा कार्यक्रमलाई मूर्तरुप दिन जनताका लागि काम गर्ने, सबैसित मिलेर हातेमालो गर्दै अगाडि बढ्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन दिने प्रतिबद्धता जनाएको छ । सोही नीति तथा कार्यक्रमका आधारमा अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नेछन् ।

छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसले लिएको उदार अर्थनीतिका कारण आज मुलुकभर सकारात्मक परिणाम देखिरहेको बताए । काँग्रेको नेतृत्वमा तीन तहको निर्वाचन सम्पन्न भई मुलुकमा राजनीतिक स्थायित्व र संविधान कार्यान्वयन भएको उल्लेख गर्दै उनले सरकारले विकास र समृद्धिका लागि भनेर अनेक कार्यक्रम घोषणा गरेपनि कार्यान्वयन गर्ने स्पष्ट खाका नीति तथा कार्यक्रममा उल्लेख नभएको उनको आरोप थियो ।

देउवाले मुलुकका ठूला आयोजना कार्यान्वयन गर्ने स्पष्ट मार्गचित्र नीति तथा कार्यक्रममा नदेखिएको बताउँदै सबै नेपाली राष्ट्रवादी भएकाले कसैलाई पनि राष्ट्र र राष्ट्रियताको पाठ पढाउन आवश्यक नरहेको टिप्पणी गरे । निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढने सम्बन्धमा सरकारको नीति तथा कार्यक्रम चुकेको उल्लेख गर्दै उनले नेपालमा लगानी आकर्षण गर्ने योजना नीति तथा कार्यक्रममा नभएको स्पष्ट पारे ।

पूर्वसभामुख एवं नेकपाका सांसद ओनसरी घर्तीले सरकारको नीति तथा कार्यक्रम नेपालको संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख रहेको बताउँदै प्रत्येक नेपालीको आय ५ वर्षमा दोब्बर पुर्याउने योजना ठिक मार्गमा अघि बढेको बताईन् । साथै सबै प्रकारका सिण्डिकेट अन्त्य गर्ने योजना नीति तथा कार्यक्रममा आउनु महत्वपूर्ण रहेको उल्लेख गर्दै देशको भू राजनीतिलाई चुनौतीको रुपमा हैन, अवसरको रुपमा लिएर अघि बढ्नुपर्ने सुझाव दिईन् ।

प्रतिक्रिया दिनुहोस्
MBL