Logo

सवारी ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या, सवारी व्यवस्था अनुसार अध्ययन हुँदै

सवारी ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या, सवारी व्यवस्था अनुसार अध्ययन हुँदै


रासस
27
Shares

काठमाडौं । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

ऐनमा अनुमति पत्र नलिई परिचालकको काम गर्न नहुने, अठार वर्ष उमेर नपुगेको व्यक्ति परिचालकको लागि अयोग्य भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

बालश्रम मुक्त अभियानअन्तर्गत पछिल्लो पटक केन्द्रीय बालकल्याण समिति, श्रम कार्यालय बाग्मती, बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) र सरोकारवाला निकायको समेत समन्वयमा गरिएको स्थलगत अनुगमनमा अनुमतिपत्र नलिइकन सार्वजनिक सवारीसाधनमा परिचालकको रुपमा काम गरेको पाइएको छ ।

सार्वजनिक सवारीसाधनबाट उद्धार गरिएका ५३ जना बालक १४ देखि १७ वर्ष उमेरका छन् । ऐनमा ‘कुनै पनि व्यक्तिले परिचालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सार्वजनिक सवारीमा परिचालकको काम गर्नु हुँदैन’ भनिएको छ ।

यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता तुल्सीराम अर्यालले सार्वजनिक यातायातमा परिचालकबारे ऐनमा व्यवस्था भएअनुसार कार्यान्वयनका लागि अध्ययन भइरहेको जानकारी दिए ।

प्रवक्ता अर्यालले विभागले गत चैतदेखि ‘यातयात व्यवस्थापन कार्य्विधि निर्दे्शिका, २०६० (संशोधित)’ लाई कार्यान्वयन गरेपछि परिचालकको समस्या पनि समाधान हुने भने पनि कार्य्विधिमा परिचालकबारे कहीँकतै उल्लेख गरिएको छैन । निर्दे्शिकाअनुसार नै चालक वा परिचालकले नियुक्तिपत्रको सुनिश्चित गरिसकेपछि आवश्यक परिचयपत्रको व्यवस्था गरिनेछ ।

ऐनअनुसार साधारण लेखपढ गर्न नजान्ने र निरोगिताको प्रमाणपत्र पेश गर्न नसक्नेका लागि परिचालकको रुपमा अयोग्य मानिने छ । सार्वजनिक सवारीसाधनबाट उद्धार गरिएका ५३ जना बालकमध्ये ३७ जनालाई परिवारमै पुनःस्थापना गरिएको छ ।

त्यसैगरी दुई जनालाई शैक्षिक सहयोग चाहिने, छ जनालाई तालीम सहयोग चाहिने, पाँच जनालाई बालगृहमा राख्नुपर्ने देखिएको छ । तीन जनालाई संस्थामै राखिएको छ भने आठ जना उद्धारपछि भागेका छन् ।

१२ जना सवारी धनीलाई कारबाही

कारबाहीस्वरुप १२ जना चालक÷सवारी धनीबाट रु १० हजारको दरले जरिवाना गरिएको श्रम कार्यालयमा प्रमुख उदय गुप्ताले जानकारी दिए । हालसम्म पनि सम्पर्कमा नआएका चालक वा सवारी धनीलाई प्रहरीको सहयोगमा कारबाहीस्वरुप जरिवाना गरिने प्रमुख गुप्ताको भनाइ छ ।

बालश्रम ऐनअनुसार बालबालिकालाई श्रमिकको रुपमा काममा लगाएमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL