Logo

नेपालको विकासमा मोदीको ‘हिट’ सूत्र फ्लप, नयाँ सूत्र ‘फाईभ टी’ सफल होला ?

नेपालको विकासमा मोदीको ‘हिट’ सूत्र फ्लप, नयाँ सूत्र ‘फाईभ टी’ सफल होला ?



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४मा पहिलो पटक नेपाल भ्रमण गर्दा नेपालको विकासको लागि ‘हिट’ सुत्र दिदै त्यसमा भारतले सघाउने प्रतिवद्धता जनाएका थिए । हिट अर्थात ‘हाईवे (राजमार्ग), इन्फरमेशन टेक्नोलोजि (सूचना प्रविधि) र ट्रान्समिशन (विद्युत प्रसारण लाईन) । उनले राजमार्ग, सूचना प्रविधि र विद्युत प्रसारणमार्फत नै नेपालको विकास सम्भव भएको बताउँदै त्यसमा भारतले सक्दो सहयोग गर्ने आस्वसन दिएका थिए । तर, उक्त ‘हिट’ सुत्र फ्लप जस्तै भएपछि उनले अर्को सुत्र ‘फाईभ टी’ ल्याएका छन् ।

‘हिट’ कसरी फ्लप ?

भारतीय सहयोगमा मधेषमा निर्माण थालिएको हुलाकी राजमार्ग तीन दशकदेखि अलपत्र परेको थियो । मोदीको हिट सुत्रपछि उक्त राजमार्गले गति लिने अपेक्षा गरिएको थियो । तर, मधेशको लाईफलाईनकोरुपमा हेरिएको हुलाकी राजमार्गको अवस्था अझै उस्तै रहेको छ । भारतीय लगानीमा निर्माण थालिएको हुलाकी राजमार्गको खण्ड अघि नबढेपछि नेपाल आफैले लगानी गरेको खण्डले भने गति लिएको छ । त्यस्तै, भारतीय ठकेदारहरुका कारण थुप्रै रणनीतिक राजमार्ग र अन्य राजमार्गहरुले गति लिन सकिरहेका छैनन् ।

उनले नेपाल–भारतबीचको टेलिफोन दर घटाउने प्रस्ताव गरे । दुवै पक्ष सहमत पनि भए । तर, घोषणा भएको चार वर्ष वितिसक्दा पनि टेलिफोन महसलुदर घटेको छैन । त्यस्तै, भारतले सार्वजनिक गरेको सार्क स्याटेलाईटमा पनि नेपाललाई हिस्सा दिने भनिएको थियो । तर, अझैसम्म पनि सार्क स्याटेलाईट नेपालले उपयोग गर्न पाएको छैन ।

प्रसारणलाईनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका मोदीले नेपालमा तेस्रो देशको लगानीमा उत्पादित विद्युत नै खरीद नगर्ने कानुनी व्यवस्था गरिसकेका छन् । यसले नेपालको समग्र जलविद्युत क्षेत्रनै तरंगीत भएको छ । त्यसो त भारतले अरुण तेस्रो, पञ्चेश्वर, माथिल्लो कर्णालीलगायत अत्यन्तै महत्वपूर्ण आयोजना निर्माण नगरी होल्ड गरेर राखेको छ ।

सरसरती हेर्दा मोदीको ‘हिट’ सुत्रमा अटाएका राजमार्ग, सूचना प्रविधि र प्रसारणलाईन निर्माण भारतको सहयोग देखिएको छैन । उल्लेखित परियोजनामा भारतको सहयोगभन्दा पनि बढी अवरोध देखिएका छन् । यसर्थ, नेपालको विकासको मोदी सुत्र ‘हिट’ लगभग फ्लप नै सावित भइसकेको छ ।

के हो नयाँ सुत्र ‘फाईभ टी’

आफ्नो पहिलो सुत्र ‘हिट’ फल्प भएपछि मोदीले नेपालको विकासमा सघाउने गरी दोस्रो सुत्र घोषणा गरेका छन् । उनले नेपाल विकासका लागि नयाँ सुत्र ‘फाईब टी’ भएको बताउँदै यसमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । ‘फाईब टी’ अर्थात ‘टे«डिसन’ (परम्परा), टे«ड (व्यापार), टुरिजम (पर्यटन), ट्रान्सपोर्ट (यातायत) र टेक्नोलोजी (प्रविधि) । मोदीकाअनुसार यो नयाँ सुत्रअनुसार नेपालले परम्परा, व्यापार, पर्यटन, यातायात र प्रविधिमार्फत विकासको बाटो पहिल्याउन सक्ने छ, जसमा भारतले भरपुर सहयोग गर्ने छ ।

नयाँ सुत्र ‘फाईब टी’ सफल होला ?

फाईभ टी सफल हुनलाई भारतले साच्चै दील खोलर सहयोग गर्न आवश्यक छ । टे«ड (व्यापार) अन्तर्गत नेपालको चरम व्यापार घाटा घटाउन भारतले मद्दत गर्नुपर्ने हुन्छ । मोदीले बारम्बार बुुद्धलाई भारतको भनिरहेका छन् । यलसे गर्दा उनले भनेको टे«डिसन (परम्परा)मा सहयोग गर्ने सम्भावना कम देखिन्छ । यद्यपी, नेपाल भारतबीच बनाउने भनिएको बुद्ध सर्किटले नेपालको विकासमा सहयोग भने पुग्न सक्छ । त्यस्तै, यातायात अन्तर्गत नेपाल भारतबीच सिधै बस सेवा सुरु भइसकेको छ । तर, हवाई यातायातमा ठूलो समसया छ । भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा छ । तर, भारतले उक्त विमानस्थलका लागि पायक पर्ने हवाई रुट अझै दिएको छैन ।

भुकम्पपछिको पीडादायी अवस्थामा समेत नेपाललाई नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्री मोदीका थुप्रै आश्वासन र सहयोगको प्रतिवद्धता केबल घोषणामै सिमित भइरहेको छ । उनको पछिल्लो सुत्रअनुसारका क्षेत्रमा पनि सहयोग गर्ने घोषणा केबल घोषणामै सिमित नहोस ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL