Logo

महासंघ अध्यक्ष राणाले भनिन्, महासंघ भित्र कुनै समस्या छैन सुरेशमान श्रेष्ठले दुस्प्रचार गर्न खोजे

महासंघ अध्यक्ष राणाले भनिन्, महासंघ भित्र कुनै समस्या छैन सुरेशमान श्रेष्ठले दुस्प्रचार गर्न खोजे



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले महासंघभित्र कुनै समस्या नभएको बताएकी छिन् । ‘महासंघ आफ्नो नीति सिद्धान्त अनुरुप चलेको छ,’ उनले बिजखबरसँग कुराकानी गर्दै भनिन्, ‘यो कुनै एउटा व्यक्तिले चलाउँदैमा चल्ने र नकारात्मक हल्ला फैलाउँदैमा समस्यामा पर्ने संस्था होइन ।’

महासंघको आफ्नो ५० बर्ष पुरानो इतिहास रहेको र अहिलेसम्म महासंघले आफ्नो प्रतिष्ठालाई जोगाएर काम गर्दै आएको समेत उनले दाबी गरिन् । ‘महासंघ कुनै एउटा कर्मचारीले विग्रीयो वा समस्यामा पर्यो भन्दैमा धराशयी हुने संस्था होइन,’ उनले भने, ‘यसको आफ्नै नीति नियम तथा संचालन प्रक्रिया छ सोही अनुरुप चलिरहन्छ ।’ साथै महासंघको उच्च तहमा रहेको व्यक्तिले आफ्नो राजीनामा पत्रमा अनावश्यक विषय उल्लेख गरेर दुस्प्रचार गर्नु खोज्नु पनि एकदमै लाजमर्दो कुरा भएको उनको तर्क थियो ।

महासचिव सुरेशमान श्रेष्ठले आफ्नो राजीनामामा महासंघ आर्थिक संकटमा परेको गुटबन्दी हावी भएको भन्ने जुन कुरा गरेका छन् त्यो एकदमै गलत र भ्रामक भएको समेत उनको दावी थियो । ‘महासंघभित्र अहिले पनि करिव ८० जना कर्मचारी कार्यरत हुनुहुन्छ,’ उनले भनिन्, ‘आजका मितिसम्म महासंघले आर्थिक समस्या भयो भन्दैमा कसको तलब भत्ता रोकेको छ ? महासचिव श्रेष्ठले आफ्नो राजीनामा पत्रमा जुन विषयबस्तु उल्लेख गरेका छन् ती सबै गलत हुन ।’

महासंघ जिल्लास्तरमा साना देखि राष्ट्रिय स्तरका ठूला व्यवसायीहरु संलग्न संस्था हो । यसले सबैलाई समान रुपमा समेटेर अघि बढेको र संस्थाभित्र काम गर्ने व्यक्ति हावी हुनु स्वभाविक भएको समेत उनको तर्क थियो । ‘संस्थामा जसले बढी समय दिन्छ जसले बढी काम गर्छ उसको आवाज स्थापित हुनु स्वभाविक हो,’ उनले भने, ‘उद्यपि महासंघले आफ्ना सबै सदस्यलाई समान रुपमा समेटेर अघि बढेको छ ।’ महासचिव श्रेष्ठले राजीनामा पत्रमा जुन विषय उठान गरेका छन् त्यसबाटै उनको स्तर स्पष्ट हुने भन्दै सो सम्बन्धमा आफ्नो कुनै टिकाटिप्णी नरहेको समेत उनको भनाइ थियो ।

यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालले पनि महासचिव श्रेष्ठले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका विषय अनावश्यक, आधारहिन र लाजमर्दो विषय भएको बताए । ‘नेपाल उद्योग बाणिज्य महासंघ भनेको सरकारजस्तो पैसा ल्याएर चल्ने संस्था होइन,’ उनले भने, ‘यस भित्र रहेका सदस्यहरुको साथ र सहयोगबाट चल्ने गर्छ ।’ श्रेष्ठले आफुले महासंघभित्र वसेर काम गर्न नसकेपछि संस्था र नेतृत्वलाई आरोप लगाएर निष्किएको समेत उनले बताए । महासंघ भित्र रहेर आफुले राम्रो काम गर्न नसकेपछि नेतृत्वलाई नै उल्टो आरोप लगाएर निष्किएको समेत उनले जानकारी दिए ।

यसैगरी महासंघका एशोसिएट्स उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि महासचिव श्रेष्ठले अनैतिक तरिकाले महासंघको दुस्प्रचार गर्न खोजेको आरोप लगाए । ‘महासंघको नेतृत्व तहमा वसेको व्यक्तिले संस्थाभित्रै बसेर छलफल गर्न सक्नुपर्छ,’ उनले भने, ‘अनावश्यक रुपमा मिडियाबाजी गर्नु राम्रो होइन ।’ श्रेष्ठले जुन जिम्मेवारी लिएर महासंघका बसेका थिए सोही अनुरुप आफ्नो जिम्मेवारी बहन गर्न नसक्नु नै उनको कमजोरी भएको ढकालको तर्क थियो । उनले आफ्नो राजीनामा पत्रमार्फत देखाएको आर्थिक अपारदर्शिता तथा आर्थिक संकटका विषयमा पनि आधारहिन र गलत रहेको उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL