Logo

नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी माथी आन्तरिक राजस्वले शुरु गर्यो छानविन

नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी माथी आन्तरिक राजस्वले शुरु गर्यो छानविन


बिजखबर संवाददाता
378
Shares

वीरगञ्ज । मदिराको बिर्कोमा टाँस्ने राजस्वको नक्कली स्टिकर छाप्ने भारतीय कम्पनीलाई आन्तरिक राजस्व विभागले जानविनको दायरामा ल्याउने भएको छ । भारतको कलकत्ता स्थित एक कम्पनीलाई छानविनको दायरामा ल्याउन लािगएको आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले जानकारी दिएको छ ।

नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको बताउँदै वीरगञ्जका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले नक्कली स्टिकर छाप्ने भारतीय कम्पनीको नाउँ सार्वजनिक गर्दा सतर्क हुने भएकाले नाम गोप्य राखिएको जानकारी दिए ।

उनले पक्राउ परेका व्यक्तिसँग बयान लिने क्रम जारी रहेको र नक्कली स्टिकर छाप्ने भारतीय कम्पनीको नामसमेत खुलेकाले भारत सरकारको सहयोगमा ती कम्पनीलाई कारवाहीको दायरामा ल्याउन आन्तरिक राजस्व विभागसँग छलफल भइरहेको बताए ।

२०७४ भदौ १९ गते राजधानीको हरिओम ट्रेडिङ प्रालिले भारतको कलकताबाट करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको ८६ हजार ४ सय ७० थान नक्कली स्टिकर वीरगञ्ज भन्सारको वैधानिक च्यानलबाट नेपाल भित्र्र्याइरहेका बेलामा पक्राउ परेको थियो ।

हिमालय रोडबेज नामक ढुवानी कम्पनीका कर्मचारी रक्सौलका वीरेन्द्रकुमार महतो नक्कली स्टिकरसहित पक्राउ परेको थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानका क्रममा स्टिकर आयातकर्ता कम्पनीका सहयोगी विराटनगरका प्रकाश घिमिरे, धादिङ धुनीबेँसीका राजकुमार भण्डारी, हरिओम ट्रेडिङ कम्पनीका सञ्चालक कुलप्रसाद राजभण्डारी, हिमालयन कार्गोकाा सञ्चालक विनोदकुमार गुप्तालाई पक्राउ गरेको थियो ।

आन्तरिक राजस्व विभागले प्रायः गरी ग्लोबल टेण्डरमार्फत इन्डोनेसियाबाट मदिराको स्टिकर छपाउने गरे पनि यस प्रकारको स्टिकर पहिलो पटक भारतको कलकतामा छपाएको फेला परेको हो । आन्तरिक राजस्व विभागले हालसम्म भारतबाट यस प्रकारको कुनै स्टिकर नछपाएकाले पक्राउ परेका उक्त स्टिकर नक्कली भएको जानकारी दिएको छ ।

पक्राउ परेकाहरुसँग बयानपश्चात जनही ७ करोड रुपैयाँ धरौटी माग गर्दा धरौटी बुझाउन नसकेपछि विनोदकुमार गुप्ताबाहेक सबैलाई पुर्पक्षका लागि वीरगञ्ज कारागारमा राखिएको छ । गुप्ता भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासको आदेशबाट रिहा भए पनि पक्राउ परेकासँग पटक–पटक बयान लिने क्रममा थप ३ जनाको नाम आएकाले उनीहरुको खोजी भइरहेको छ ।

अनुसन्धानकै क्रममा नक्कली स्टिकर उत्पादन गर्ने गिरोहमा संलग्न रहेको आरोपमा सिआइबीले पुष्कर दवाडीलाई पक्राउ गरेको छ । कार्यालयले नक्कली स्टिकर प्रकरणमा सरकारी छाप किर्ते गरेको मुद्दा जिल्ला अदालत पर्सामा चलिरहेको छ । पक्राउ परेकाहरु दोषी ठहर भए १ वर्ष कैद बिगो र बिगो बमोजिमको जरिवाना हुनसक्ने सो कार्यालयले जानकारी दिएको छ । सो नक्कली स्टिकर बजारमा गएको भए सरकारलाई करीब ४ करोड रुपैयाँ राजस्व घाटा हुने थियो /रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL