Logo

साउदी फण्डको २ अर्ब ४१ करोड सहयोग, अन्य परियोजना पनि ल्याउन आग्रह

साउदी फण्डको २ अर्ब ४१ करोड सहयोग, अन्य परियोजना पनि ल्याउन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ फागुन, काठमाडौं । साउदी फण्डले नेपालको कृषिक्षेत्रलाई सहयोग पुग्नेगरी सिंचाई परियोजनामा सहयोग सहयोग गरेको छ । सो फण्डले बाँके जिल्लामा सञ्चालित दुन्दुवा सिंचाई परियोजनाका लागि २ अर्ब ४१ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको हो । उक्त सहयोगको सम्झौता पत्रमा मंगलबार अथसचिव सुमनप्रसाद शर्मा र साउदी फण्डका उपाध्यक्ष तथा प्रवन्ध निर्देशक बसामले हस्ताक्षर गरेका हुन् । सो सम्झौतामा हस्ताक्षरका लागि फण्डका उपाध्यक्ष बसामको नेतृत्वमा एक प्रतिनिधिमण्डल हालै नेपाल आएको थियो ।

उक्त सहयोगको हस्ताक्षरसँगै उपाध्यक्ष वसामले अर्थमन्त्री डा. रामशरण महतसँगै उनकै कार्यकक्षमा भेट गरेका थिए । भेटमा अर्थमन्त्री डा महतले सरकारले पूर्वाधारको विकासलाई प्राथमिकतामा राखी काम गरिरहेकोले त्यस्ता क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए । ‘विशेषगरी ग्रामीण सडक, सिंचाई र सडकजस्ता पूर्वाधारका क्षेत्रमा साउदी सहयोगले ठूलो महत्व राख्नेछ,’ उनले भने, ‘विकासका दृष्टिले नेपाल निकै पछि रहेको र पूर्वाधारका खास क्षेत्रमा सहयोग गरेमा नेपालको विकास अभियानमा ठूलो सहयोग हुनेछ ।’

rahsharan-mahar-saudi-fund

भेटघाटका क्रममा अर्थमन्त्री डा महतले नेपालमा जलविद्युत, विमानस्थल, द्रुतमार्ग जस्ता पूर्वाधारका क्षेत्रमा ठूलो लगानी भैरहेको जानकारी दिदै अझै नेपाललाई ठूला पूर्वाधारका क्षेत्रमा सहयोगको खाँचो रहेको स्पष्ट पारे । ‘सरकारले लगानी अनुकूल वातावरण निर्माण गरेकोले पछिल्लो समय होटेल, एयरलाइन्स, सिमेन्ट, विद्युत जस्ता क्षेत्रमा ठूलो लगानी आइरहेको छ,’ उनले भने, ‘नेपालसँग भएका आफ्नै स्रोत साधन तथा विदेशी सहयोगले विकास निर्माणलाई तिब्रता दिन ठोस सहयोग पुगेको छ ।’

सो अवसरमा साउदी फण्डका उपाध्यक्ष बसामले पूर्वाधारका क्षेत्रमा सहयोग गर्न सकिने भएकोले आकर्षक र आवश्यक परियोजना प्रस्ताव गर्न आग्रह गरे । विगतमा साउदी फण्डको सहयोगमा सञ्चालित परियोजनाहरु सफल रहेको अनुभव सुनाउँदै आगामी दिनमा सहयोगको संभावना बढेको उनको भनाइ थियो । साथै, आगामी दिनमा कृषि विकासका लागि सहयोग बढाउने संभावना रहेको जानकारी दिए । भेटमा अर्थसचिव शर्मा, सहसचिव बैकुण्ठ अर्याल तथा अर्थमन्त्रालयका अधिकारीहरु र साउदी प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL