Logo

१४५ मेवा विद्युत खरिद सम्झौता नविकरण गर्न कुलमान दिल्ली प्रस्थान

१४५ मेवा विद्युत खरिद सम्झौता नविकरण गर्न कुलमान दिल्ली प्रस्थान


बिजखबर संवाददाता
54
Shares

काठमाडौ । विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दिल्ली प्रस्थान गरेका छन् । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गर्न आज बिहानै उच्चस्तरीय टोली सहित घिसिङ दिल्ली प्रस्थान गरेका हुन् ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको बताए ।

भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडका अधिकारीसँग घिसिङ नेतृत्वको टोलीले छलफल गर्ने र सम्झौता नवीकरण गर्ने कार्यसूची रहेको छ । एनभिभीएनबाट बिजुली आयातलाई निरन्तरता दिने विषयमा स्पष्ट जवाफ नआएको र सम्झौताको म्याद सकिन लागेपछि थप छलफल आवश्यक देखिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात गर्दै आएको छ ।

भारतबाट विद्युत् उपलब्ध हुन नसकेमा विद्युत्भार कटौती हुने आशंका बढेको भन्दै प्राधिकरणले दिल्ली बैठकलाई महत्वपूर्ण बैठकका रुपमा लिएको छ । भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ । विद्युत् प्रवाहमा सहजता ल्याउनका लागिसमेत थप विद्युत् जरुरी रहेको बताइएको छ ।

तीन महिना पहिले प्राधिकरण र एनभिभीएनबीच भएको सम्झौता नवीकरण गरेर विद्युत आयातमा सहजता ल्याउने लक्ष्य राखिएको प्रवक्ता अधिकारीले बताए / रासस

प्रतिक्रिया दिनुहोस्
MBL