Logo

अर्थमन्त्री डा. महत र जापानी नेताहरुबीच भेट, जापानले नेपाललाई थप सहयोग गर्ने

अर्थमन्त्री डा. महत र जापानी नेताहरुबीच भेट, जापानले नेपाललाई थप सहयोग गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ फागुन, काठमाडौं । जापान भ्रमणमा रहेका अर्थमन्त्री डा रामशरण महत र लिबरल डेमोक्रेटिक पार्टीको राष्ट्रिय परिषदका अध्यक्ष तथा पूर्वमन्त्री तोसिहिरो निकाइबीच शुक्रबार भेटघाट तथा छलफल भएको छ । उक्त छलफलमा अर्थमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता डा महतले नेपालमा संबिधान निर्माणका लागि भैरहेको प्रयासको बारेमा जानकारी गराएका थिए ।

नेपालमा कार्यान्वयन हुन सक्ने लोकतान्त्रिक संबिधान निर्माणका लागि दलहरु जुटिरहेको उल्लेख गर्दै उहाँले चाँडै नै दलहरुबीच न्युनतम सहमति कायम हुने र संबिधान जारी हुने जानकारी गराएका थिए । ‘जापानले नेपाललाई आर्थिक सहयोग मात्र गरेको छैन, नेपालको लोकतान्त्रिक प्रक्रिया र प्रणालीको सुदृढीकरणको लागि पनि ठूलो सहयोग गरेको छ,’ महतले भने, ‘यसको हामी सँधै सराहना गर्दछौं ।’ उनले जापानमा नेपालीलाई शरणार्थीको मान्यता दिन नपर्ने उल्लेख गर्दै नेपालमा कानूनको शासन रहेको जानकारी दिए । लोकतान्त्रिक विधि र प्रक्रियाबाट काम हुन्छ । धेरै मानव अधिकारबादी संघ संस्थाहरु कार्यरत रहेका छन । त्यसैले कसैलाई जापानमा मात्र होइन अन्यत्र पनि शरणार्थी भएर बस्नु र त्यस्तो मान्यता खोज्नु आवश्यक नरहेको उनको भनाइ थियो ।

ramsharan-mahat-japan1

 

आईएसआईले दुई जापानी नागरिकको हत्या गरेकोमा निन्दा गर्दै उनले आतंककारीहरु विरुद्धको विश्वको अभियानमा नेपालको ऐक्यवद्धता रहेको स्पष्ट पारे ।

सो अवसरमा अध्यक्ष निकाई तथा सांसदहरुको टोलीले नेपालमा संबिधान निर्माण प्रक्रिया र विकास निर्माणको स्थितिका बारेमा जिज्ञासा राखेका थिए । ‘बुद्ध जन्मेको देश नेपाललाई सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ,’ अध्यक्ष निकाइले भने, ‘नेपाललाई आगामी दिनमा थप सहयोग गर्न जापान तत्पर रहेको छ ।’

यसैगरी अर्थमन्त्री डा महत र जापानका विदेश राज्यमन्त्री मिनोरु किउचीबीच पनि शुक्रबारै भेटघाट तथा छलफल भयो । सो अवसरमा अर्थमन्त्री डा महतले जापानले जलविद्युत, कृषि, सडक, स्वास्थ्य जस्ता नेपालको प्राथमिकताका क्षेत्रहरुमा सहयोग गरेकोमा आभार प्रकट गरेका थिए । नेपालले आगामी सन २०२२ सम्ममा कम विकसितबाट विकसित मुलुकको स्तरमा पुग्ने लक्ष्य राखेको उल्लेख गर्दै यसका लागि नेपालले ठूलो परिमाणमा लगानी गर्नुपर्ने बताए ।

सो अवसरमा विदेश राज्यमन्त्री किउचीले हालै सार्क मुलुकहरुबीच सम्पन्न विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणका लागि भएको सम्झौताको प्रशंसा गरे । उनले नागढुंगाको सडक सुरुङ निर्माणले यातायात सेवालाई सहज र कम खर्चिलो बनाउने आशा व्यक्त गरे ।

ramsharan-mahat-japan 2

 

यसैगरी अर्थमन्त्री डा महत र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका वरिष्ठ उपाध्यक्ष हिडियाकी डोमिचीबीच नेपालमा जाइकाको सहयोगबारे छलफल भएको थियो । भेटमा अर्थमन्त्री डा महतले जापानको सहयोगमा निर्मित बनेपा बर्दिबास सडक सञ्चालनमा आएको र यो सडक गुणस्तरीय भएकोमा खुशी व्यक्त गरे । भारतसँग भएको विद्युत व्यापार सम्झौताले नेपालमा विशेषगरी जलविद्युतका क्षेत्रमा लगानीको ढोका खोलेको उल्लेख गर्दै हालै सार्क मुलुकहरुबीच प्रसारण लाइन सम्झौता पनि सम्पन्न भएको छ र यसले सार्क मुलुकभर विद्युतको साझा बजार प्राप्त भएको जानकारी दिए । ‘यसले नेपालको उर्जा क्षेत्रमा विदेशी लगानी आकर्षित हुने वातावरण बनेको छ,’ उनले भने, ‘अव नेपालको विद्युतका क्षेत्रमा लगानी गर्दा बजार छैन भन्ने गुनासो गर्ने ठाउँ छैन ।’ उनले नागढंगाको सुरुङ निर्माणको कार्य छिटै हुने र यो परियोजना नेपालका लागि कोशेढंगा सावित हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा जाइकाका वरिष्ठ उपाध्यक्ष डोमिचीले समयमै संबिधान निर्माण भै विकास निर्माणमा केन्द्रित हुने सकेमा नेपाललाई जापानको थप सहयोग आउने जानकारी दिए । तनहुँ जलविद्युत आयोजना नेपालमा जापानी सहयोगको एउटा सांकेतिक परियोजना भएको चर्चा गर्दै उनले यसको निर्माण कार्य छिटो थाल्नुपर्नेमा बताए ।

भेटघाटका अवसरमा सडक विभागका महानिर्देशक माधव कार्की तथा विभागका इन्जिनियरहरुको उपस्थिति रहेको थियो । यसअघि अर्थमन्त्री डा महतले जापानको सिगुओकास्थित तारुताउज सुरुङ सडक र यसमा प्रयोग भएको प्रविधिको अवलोकन गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL