Logo

ट्याक्सी भाडा दक्षिण एसियाकै महङ्गो, सरकारको नियन्त्रण बाहिर हुँदा उपभोक्ता ठगिने क्रम बढ्यो

ट्याक्सी भाडा दक्षिण एसियाकै महङ्गो, सरकारको नियन्त्रण बाहिर हुँदा उपभोक्ता ठगिने क्रम बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले चासो नदिदा काठमाडौंमा सञ्चालित मिटर ट्याक्सीले यात्रु ठग्नेक्रम बढेका सरोकारवालाहरुले बताएका छन् । सोमबार व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै सभासद्हरुले काठमाडौंमा चल्ने ट्याक्सीले अव्यवस्थित बनाउनुका साथै उपभोक्तामाथि ठूलो मात्रामा ठगी भइरहेको उनीहरुले आरोप लगाएका छन् ।

सभासद्हरुले मिटर ट्याक्सी सेवाको गुणस्तरीयता एवं उपभोक्ता ठगी नियन्त्रणका लागि भएका प्रयास विषयक छलफलमा बोल्ने सभासदहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उनीहरुले ट्याक्सी सेवाको भावले सञ्चालन नभई उपभोक्ता ठगीमा प्रयोग भएको आरोप लगाएका छन् ।

ट्याक्सीहरुले सेवा शुल्क मात्र बढी लिएको मात्र नभई पुराना र ठाउँ ठाउँमा बिग्रीरहने भएका कारण सवारी यातायातमा समस्या भएको समितिका सभापति रविन्द्र अधिकारीको भनाइ थियो ।

छलफलमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले नियमनकारी निकायको समन्वय अभावका कारण यातायात क्षेत्रमा ठगी मौलाएको बताए । शुल्क प्रिन्ट गरेर सेवा दिने प्रिन्टरसहितको ट्याक्सी व्यवस्थापन पनि पेचिलो मुद्दा बनेको नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक विश्वराम पुडासैनीको भनाई छ । विस्तारै प्रणाली विकास भएपनि मिटरको सर्भिसिङ गर्ने जनशक्ति र प्रविधिको अभाव हुँदा थप समस्या उत्पन्न भएको उनको भनाइ छ ।

सो अवसरमा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई ट्याक्सीहरु पञ्जीकरणमा आउन सकेका नसकेको बताए । साथै खरिद विक्री तथा रुटका विषयमा अझै कार्टेलिङ र सिण्डिकेटको रहेको उनले जानकारी दिए । प्रविधि र जनशक्ति अभाव हुनु नै मुख्य समस्या भएको उनको भनाइ थियो ।

अधिकारकर्मी ज्योती बानियाँले नेपालमा गुड्ने ट्याक्सीको भाडा दक्षिण एशियाली मुलुकभरिमै सबैभन्दा बढी भएको भन्दै कम गर्नुपर्ने बताए । अहिले ट्याक्सी चढ्ने वित्तिकै १४ रुपैयाँबाट शुल्क शुरु हुन्छ भने यात्रुले प्रतिकिलोमिटर ३७ रुपैयाँ तिर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL