Logo

दशैदेखि कालिञ्चोकमा केबलकार सञ्चालन, निर्माणको ४० प्रतिशत काम सकियो

दशैदेखि कालिञ्चोकमा केबलकार सञ्चालन, निर्माणको ४० प्रतिशत काम सकियो


रक्षा रेग्मी
0
Shares

काठमाडौं । दोलखाको कालिञ्चोक भगवतीस्थानमा केबलकार निर्माणको काम तिव्र रुपमा अघि बढेको छ । आगामी दशैदेखि सञ्चालनमा ल्याउने उद्देश्यसहित काम अघि बढाइएको निर्माता कम्पनी कालिन्चोक दर्शन प्रालिका प्रबन्ध निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार हाल केबलकार निर्माणको ४० प्रतिशत काम सकिएको छ । ‘फाउन्डेशन’को काम पुरा भएर हाल टावर निर्माणको काम सुरु गरिएको शिवाकोटीले जानकारी दिए ।

केबलकारको ‘बटम स्टेशन’ देखि ‘टप स्टेशन’सम्म पाँचओटा टावर राखिने छ । टप स्टेशन आसपासमा कफी सप, रेष्टुराँलगायतको निर्माण शुरु भइसकेको छ । शिवाकोटीका अनुसार करिब दुई सय पर्यटक बास बस्न मिल्ने स्थान पनि निर्माण गरिदै छ ।

कम्पनीले हालैमा स्विट्जरल्याण्डबाट चार ओटा गन्डोला ल्याइसकेको जनाएको छ । केबलकार सञ्चालनका लागि करीब ४० करोड लगानी लाग्ने कम्पनीको अनुमान छ ।

कालिञ्चोक सास्ंकृतिक तथा प्राकृतिक हिसावले उत्कृष्ट स्थान भएकोले केबलकार सञ्चालनका लागि यो स्थान रोजिएको शिवाकोटीले बताए । ‘धार्मिक तथा प्रकृतिप्रेमी आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै केवलकार स्थापना गर्न लागेका हौं’ उनले भने ।

करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको सो स्थान काठमाडौंबाट गाडीमा चार घण्टामा पुगिन्छ । पुषदेखि चैतसम्म हिउँ पर्ने भएकोले हिउँ खेल्न चाहनेलाई पनि कालिञ्चोक आकर्षणको क्षेत्र बनेको छ । कालिञ्चोकबाट गणेश हिमाल र गौरी शंकर हिमाल देखिन्छ ।

केबलकारको बटम स्टेशनदेखि टप स्टेशन पुग्न पाँच मिनेट लाग्ने छ । कम्पनीले १२ जना अट्ने चार ओटा गण्डोला सञ्चालन गर्न लागेको हो ।

कालिञ्चोक दर्शन प्रालि पब्लिक लिमिटेड कम्पनी हो । सेवामुलक र व्यावसायीक दुवै प्रकारको बनाउने उद्देश्यका साथ पब्लिक लिमिटेड कम्पनीमा दर्ता गरिएको हो । कम्पनीमा सर्वसाधारणले पनि सेयर राख्न सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा केबलकार निर्माण तथा दोश्रो चरणमा रिसोर्ट स्थापना गर्ने या्ेजना बनाएको छ । कम्पनीले त्यहाँ तीन तारे रिसोर्ट निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL