Logo

कुल बजेटको २६ प्रतिशत खर्च, पूँजीगततर्फ ११ प्रतिशत मात्र, राजस्व संकलन बढ्ने

कुल बजेटको २६ प्रतिशत खर्च, पूँजीगततर्फ ११ प्रतिशत मात्र, राजस्व संकलन बढ्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल बजेटको २६ दशमलव १९ प्रतिशत खर्च गरेको छ । चालू आवमा अघिल्लो वर्षको तुलनामा ४५ दिन अघि बजेट ल्याइएपनि खर्चको अवस्था भने एकदमै दयनिय देखिएको छ ।

सरकारले चालू आवको लागि १० खर्ब ४८ अर्बको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म ६ महिना २ खर्ब ७४ अर्ब रुपैयाँ खर्च गरेको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले जानकारी दिए ।

सो अवधिमा सरकारले सबैभन्दा बढी चालुतर्फ ३५ दशमलव ४२ प्रतिशत रकम खर्च गरेको छ भने वित्तीय व्यवस्थापनतर्फ १७ दशमलव ३८ प्रतिशत खर्च गरेको छ । सरकारले विकास निर्माणको लागि गरिने पूँजीगत खर्च भने जम्मा ११ दशमलव ३८ प्रतिशत मात्र भएको छ ।

यस वर्ष सरकारले ठूलो आकारको बजेट ल्याएकोले अहिले भएको खर्च अनुपात सन्तोषजन भएको महराको दावी छ । ‘हामीले चालू आवमा कति बजेट खर्च भयो भन्नुभन्दा पनि अघिल्लो वर्षको कति भएको थियो भनेर हेर्नु जरुरी छ,’ उनले भने, ‘अघिल्लो वर्षका तुलनामा खर्च सन्तोषजनकै छ ।’

अर्थमन्त्री महराले पछिल्लो समय विभिन्न मन्त्रालयबाट थप २ खर्ब ७६ अर्ब ९० करोड ८९ लाख रुपैयाँ बजेट माग भएको जानकारी दिएका छन् । विनियोजित बजेट खर्च गर्न नसकेको अवस्थामा बजेटभन्दा बाहिरका कार्यक्रम ल्याएर मन्त्रालयले अनावश्यक रुपमा रकम माग गर्ने क्रम बढेको छ ।

पुरानो सरकारले ल्याएको बजेट भएकाले नयाँ सरकार आएसँगै कार्यकर्ताहरुको थप आशा बढेकाले नयाँ कार्यक्रमका लागि बजेट माग भएको महराले जानकारी दिए । ‘सरकार परिवर्तन भएसँगै थप नयाँ कार्यक्रमका साथ बजेट माग हुनु स्वभाविक हो,’ उनले भने, ‘तर, उक्त कार्यक्रमलाई बजेट दिन सम्भव छैन ।’

मन्त्रालयगततर्फ सो अवधिमा पूँजीगत खर्च गर्नेमा मन्त्रालयहरुमा स्वास्थ्य मन्त्रालय, सिचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् । यी मन्त्रालयहरुले क्रमशः २० दशमलव ६० प्रतिशत, १९ दशमलव ०८ प्रतिशत, १८ दशमलव ४५ प्रतिशत खर्च गरेका छन् ।

महराका अनुसार अबका दिनमा उर्जा र भौतिक मन्त्रालयमा खर्च बढाउनुपर्ने जानकारी दिए । यी दुई मन्त्रालयले द्वुत गतिमा काम गरेको र सो अन्तरगत विकास निर्माणका काम पनि बढी भएकाले खर्च बढाउनु पर्ने देखिएको हो ।

सोही अवधिमा सरकारले राजस्व संकलन भने लक्ष्यभन्दा बढी गरेको छ । सरकारले ६ महिनामा २ खर्ब ५८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ खर्ब ७७ अर्ब असुली गरेको छ । वर्ष अन्त्यमा भने ५ खर्ब ७९ अर्ब संकलन हुने संशोधित अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL