Logo

किन बढ्दैछ पेट्रोल पम्पमा लाइन, शुरु भयो पेट्रोलियम अभावको ‘ड्रामा’

किन बढ्दैछ पेट्रोल पम्पमा लाइन, शुरु भयो पेट्रोलियम अभावको ‘ड्रामा’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लामो समय पेट्रोलियम अभावको मार खेपेका नेपालीहरु पुनः लाइन बस्न वाध्य भएका छन् । पेट्रोल पम्पहरुले सहज रुपमा पेट्रोल उपलब्ध नगराएपछि उपभोक्ताहरु घण्टौं लाइन बस्न वाध्य भएका हुन् ।

राजधानीका पेट्रोल पम्पहरुमा शुक्रबारदेखि लाइन लाग्न शुरु भएको हो । पछिल्लो समय राजधानी मात्र नभई देशभर नै पेट्रोलको लाइन बढेको नेपाल पेट्रोलियम डिलर्स एशोसियनशनका अध्यक्ष लिलेन्द्र प्रधान बताउँछन् । निगमले व्यवस्थापनमा चासो नदिदा पेट्रोल पम्पहरुमा उपभोक्ताको लाइन बढेको उनको दावी छ ।

उनका अनुसार नेपाल आयल निगमले ३ दिनसम्म पेट्रोल वितरण गरेन । जसले गर्दा पछिल्लो समय उपभोक्ताहरुको लाइन बढ्न पुगेको हो । ‘अझै पनि नेपाली उपभोक्तामा नाकाबन्दीको धङ्धगी छ,’ उनले भने, ‘प्राविधिक कारणले १÷२ दिन पेट्रोल अभाव भयो कि ह्वात्तै लाइन बढ्छ ।’

ढुवानी मजदुरहरुले सरकारले ढुवानी नियमावलीमा एकलौटी गरेको भन्दै पहिला देखिनै घोषित रुपमा १७ गते त्यसको विरोध तथा हड्ताल आयोजना गरेका थिए । तर, निगम व्यवस्थापनले त्यसलाई मध्य नजर गर्दै अघिल्लो दिन नै बजारमा पेट्रोलियम पदार्थ नपठाउँदा समस्या आएको प्रधानले जानकारी दिए । ‘अहिले बजारमा दैनिक ४ सय किलोलिटर पेट्रोल आवश्यक छ,’ उनले भने, ‘तर, निगमले ३ दिनसम्म बजारमा नपठाउँदा ठूलो समस्या उत्पन्न भयो ।’ निगमले आइतबार पनि पम्पमा ५ बजे पछिमात्र पम्पमा पेट्रोल पुग्ने गरी पठाएको उनले जानकारी दिए । उनका अनुसार बजारमा अझै २/३ दिनसम्म सहज रुपमा पेट्रोलियम पाइने छैन ।

नेपाल आयाल निगमले भने केही प्राविधिक कारणले गर्दा बजारमा पेट्रोल अभाव भएकोे जानकारी दिएको छ । ढुवानी मजदुरको हड्ताल तथा विदाका कारण गर्दा केही दिन अभाव हुन गएको निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले बताए । ‘अहिले निगमसँग पेट्रोलको कुनै अभाव छैन,’ उनले भने, ‘बजारको माग अनुसार आपूर्ति गर्न सक्छौं ।’ निगमले बजारमा हिजोमात्र ८ सय केएल पेट्रोल पठाएको र आज पनि ७ सय केएल पठाउने तयारी गरिरहेको उनको जानकारी दिए । विदा तथा हड्तालको कारणले गर्दा १/२ दिन अभाव भएको र अब सहज रुपमा पाइने समेत उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL