Logo

घरेलु उद्यमीको वित्तिय पहुँच विस्तारमा सघाउन उद्योग मन्त्रीको आग्रह, बैंक तथा वित्तिय संस्था तयार

घरेलु उद्यमीको वित्तिय पहुँच विस्तारमा सघाउन उद्योग मन्त्रीको आग्रह, बैंक तथा वित्तिय संस्था तयार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु साना तथा घरेलु उद्यमीहरुको वित्तिय पहुँच विस्तारमा सघाउन बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । उद्योग मन्त्रालयमा बिहीवार आयोजित बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुको छलफलमा यस्तो आग्रह गरेका हुन् । ‘उद्योग क्षेत्रमा नयाँ परिवर्तन सम्भव छ भनेर मन्त्रालय अगाडी बढिरहेको छ’ उनले भने ‘ यसमा बैंक तथा वित्तिय संस्थाको सहयोग आवश्यक छ ।’

बैंक तथा वित्तिय संस्थाहरुको लगानीको सुरक्षा गर्न सरकार सहजिकरण गर्न तयार रहेको भन्दै मन्त्री जोशीले कस्तो खालको नीतिगत व्यवस्था गरेमा लघु, साना तथा घरेलु उद्योगमा लगानी बढ्न सक्छ भनी प्रश्न गरेका थिए ।

औद्योगिक वातावरण बनाउन सरकारले कानुनी संरचनाको निर्माणलाई प्राथमिकतामा राखेको जानकारी उनले दिए । साथै मन्त्री जोशीले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन मन्त्रालयबाट अन्तिम मस्यौदा तयार भई अहिले विभिन्न मन्त्रालयमा छलफलको क्रममा रहेको र कम्पनी ऐन संसदीय समितिमा छलफल भइ २ हप्ता भित्र नै संसदमा प्रस्तुत हुने प्रकृयामा रहेको समेत बताए ।

छलफलमा नेपाल राष्ट्र बैंकका डेपु्टी गभर्नर शिवराज श्रेष्ठले विशेष गरेर साना तथा मझौला उद्योगहरुमा कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको भए पनि बैंक तथा वित्तिय संस्थाहरुले अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन गरेको नदेखिएको बताए ।

यस्ता क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी गरेको अवस्थामा केन्दीय बैकले यसको लगानी गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई ५ प्रतिशत व्याजदरमा पूर्नकर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । तर हालसम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुले त्यस्तो सुविधा माग नगरेकाले बैंक तथा वित्तिय संस्थाहरुको त्यस क्षेत्रमा ध्यान नपुगेको उनले बताए ।

छलफलमा बैंकर एशासियसन, विकास बैंक संघ र फाईनान्स कम्पनीका प्रतिनिधिहरुले वित्तिय साक्षरताको अभावमा साना व्यवसायिहरु बैंक तथा वित्तिय संस्थामा कर्जाकोे लागि नआएको जानकारी दिए । साथै सरकारले लघु, घरेलु तथा साना उद्यमीहरुलाई उद्यमशीलता सम्वन्धि तालिम प्रदान गर्ने क्रममै बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुलाई समेत समावेश गराउन सके त्यसले परिणाम दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL