Logo

रेमिट्यान्स आप्रवाह ३ प्रतिशतमा खुम्चियो, विज्ञ भन्छन्, अर्थतन्त्रमा ठूलो धक्का

रेमिट्यान्स आप्रवाह ३ प्रतिशतमा खुम्चियो, विज्ञ भन्छन्, अर्थतन्त्रमा ठूलो धक्का


रामराजा श्रेष्ठ
54
Shares

काठमाडौं । देशमा रेमिट्यान्स भित्रने क्रम घटेसँगै देशको अर्थतन्त्रमा ठूलो असर पर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । रेमिट्यान्समा आश्रित देशको अर्थतन्त्रमा आगामी दिनमा भित्रने क्रम घटेसँगै त्यसले अर्थतन्त्र चलायमान बनाउन समेत कठिन हुने उनीहरुको तर्क छ ।

चालू आर्थिक वर्षको पहिलो ३ महिनामा रेमिट्यान्स बृद्धिदर घटेर ३ दशमलव २ प्रतिशतमा खुम्चिएको छ । जवकि अघिल्लो आवको सोही अवधिमा यस्तो बृद्धिदर २४ प्रतिशतभन्दा बढी रहेको थियो । देशमा रेमिट्यान्स भित्रने क्रम घटेसँगै देशको अर्थतन्त्र चलायमान बनाउन कठिन हुनुका साथै विदेशी मुद्रा सञ्चितीमा समेत ठूलो असर पर्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी बताउँछन् ।

देशको अर्थतन्त्र चलायमान बनाउन पछिल्लो समय रेमिट्यान्सले ठूलो भुमिका खेल्दै आएको छ । तर, रेमिट्यान्स भित्रने क्रम घटेसँगै अर्थतन्त्रमा त्यसको असर सामान्य रुपमा देखिन थालेको राष्ट्र बैंकको स्रोतको दावी छ । गत आवको पहिलो त्रैमासिकका रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेर १ खर्ब ६६ अर्ब ४२ करोड रुपैयाँ भित्रिएको थियो । तर, चालू आवको सोही अवधिमा ३ दशमलव २ प्रतिशत मात्र बढेर १ खर्ब ७१ अर्ब ६९ करोड रुपैयाँमा सिमित भएको छ । वार्षिक रुपमा रेमिट्यान्स भित्र्नेक्रम २५ देखि ३४ प्रतिशतसम्म बढ्दै गएकोमा चालू आवको घट्दो क्रमले अर्थतन्त्रमा ठूलो असर पार्ने शिवाकोटीको भनाइ छ ।

देशको ५५ प्रतिशतभन्दा बढी घरपरिवार रेमिट्यान्समा आश्रित रहेको अवस्थामा बृद्धिदर घट्दा सामान्य जिवनयापन चलाउनदेखि ठूला उद्योग कलकारखानामा समेत ठूलो असर पर्ने राष्ट्रिय ओजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ बताउँछन् । ‘रेमिट्यान्स भित्रने क्रमसँगै नेपालीको क्रय शक्ति बढ्नुका साथै गरिवीको संख्यामा समेत कमि आएको थियो,’ उनले भने, ‘साथै वाल मृत्युदरमा कमि आउनुका साथै बालबच्चालाई बोर्डिङमा पठाउने बानीको विकास भएको थियो ।’ यदि यहि क्रममा रेमिट्यान्स आप्रवाह घट्ने हो भने देश आर्थिक संकटमा पर्नुका साथै गरिबी समेत उच्च रुपमा बढ्ने उनको तर्क छ ।

पछिल्लो समय हुण्डीबाट पैसा भित्रने क्रम बढेकाले गर्दा पनि बैंकिङ प्रणालीबाट भित्रने रेमिट्यान्समा कमि आएको हुनसक्ने राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा बताउँछन् । ‘सम्बन्धित सरोकारवारवाला निकायले रेमिट्यान्स घट्यो भन्नुभन्दा पनि हुण्डीबाट आउने क्रम कति बढ्यो भनेर अनुसन्धान गर्नुपर्छ,’ उनले भने, ‘साथै नेपाल भित्रने रेमिट्यान्स दलालमार्फत वाहिर बाहिरै परिचालन हुने गरेको छ ।’ रेमिट्यान्स बृद्धिदर झर्दैमा आत्तिहाल्न नपर्ने उनको तर्क थियो ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको लागि फ्री भिसा, फ्री टिकटको व्यवस्था लागू गरेसँगै बैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उल्लेख्य गिरावट आएको छ । जसको असर देशमा भित्रने रेमिट्यान्समा देखिन थालेको हो । यदि सरकारले त्यस्ता विषयमा पुर्नविचार नगर्ने हो भने रेमिट्यान्सको बृद्धिदरमा मात्र नभई भित्रनै क्रमा नै अघिल्लाको वर्षको तुलनामा उल्लेख्य गिरावट आउने नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ बताउँछन् । ‘अहिले पनि ४० प्रतिशतभन्दा बढी कामदारहरु नयाँ व्यवस्था लागूहुनुभन्दा अघिका फाइलमा रोजारीमा गईरहेका छन्,’ उनले भने, ‘नयाँ व्यवस्था अनुसार कामदार पठाउन नसकिएको र २०७४ असार पछि त्यसको पनि म्याद सकिने हुँदा रेमिट्यान्स आप्रवाहमा ६० प्रतिशतभन्दा बढीले गिरावट आउने छ ।’ अहिलेकै अवस्थामा पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम २० प्रतिशतभन्दा बढीले गिरावट आएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL