Logo

मेलम्चीको पानी २०७४ असोजमै ल्याउन निर्देशन, आयोजनाको स्वामित्वमा रहेका जग्गा अतिक्रमण हुन नदेउ

मेलम्चीको पानी २०७४ असोजमै ल्याउन निर्देशन, आयोजनाको स्वामित्वमा रहेका जग्गा अतिक्रमण हुन नदेउ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले २०७४ असोज भित्र उपत्यकामा जसरी भएपनि पानी उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिको सोमवार बसेको बैठकले निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्न व्यवस्थापिकीय पक्ष, निर्माण औजार एवं दक्ष जनशक्तिलाई कुशलतापूर्वक परिचालन गर्न, हेडवक्स निर्माण, सुरुङ्ग निर्माण, पानी प्रशोधन केन्द्र निर्माणको कामलाई अझ बढी तदारुकताका साथ कार्य सम्पन्न गर्न समेत निर्दिष्ट गरेको हो ।

बैठकमा मेलम्ची खानेपानी आयोजना निर्माण सम्बन्धमा हालसम्मको कार्य प्रगतिको समीक्षा साथै शीघ्र निर्माण कार्य सम्पन्न गर्ने सम्बन्धमा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव र मेलम्ची खानेपानी आयोजनाका प्रमुखहरुसँग छलफल गरेको छ ।

समितिले आयोजनाको स्वामित्वमा रहेका जग्गाहरु अतिक्रमण हुन नदिन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देश गर्दछ । विकास समितिले मिति २०७१ साल पुस ४ गते गरेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अध्ययन भ्रमण पश्चात् सुरुङ्ग निर्माणको कार्य तथा उपत्यका भित्रपानी वितरण गर्ने संरचनानिर्माणको कार्यले गति लिएको पाएको जानकारी दिएको छ ।

आयोजना निर्माण गर्दाको प्रारम्भिक अवस्थामा प्रक्षेपित काठमाडौँ उपत्यकामा पानीको माग र हालको पानीको मागवीच ठूलो अन्तर छ । ‘मेलम्ची खोलाको पानीमा मात्र भर पर्ने हो भने उपलब्ध हुने पानीबाट उपत्यकाका लागि दीगो र दीर्घकालीन आवश्यकता पूरा नहुने निश्चित छ निणर्यमा भनिएको छ ‘आयोजना निर्माणको रुटमा पर्ने सम्भाब्य भनिएका याङ्ग्री र लार्के खोलाको पानी समेत ल्याउन आवश्यक पूर्वाधारहरुको निर्माण यथाशीघ्र गर्न, गराउन हालसम्म डिपीआर समेत तयार नभएकोले सो कार्य यथाशीघ्र गर्न, गराउन समिति पुन निर्देश गर्दछ।’

साथै यस फेज २ आयोजनालाई समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा राख्न तथा उपत्यका भित्र रहेका पानीका स्रोतहरुको उपभोग गर्ने कार्यलाई समेत अध्ययन गरी फेज २ मा समावेश गर्न समिति नेपाल सरकार, खानेपानीतथा सरसफाई मन्त्रालय, अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई निर्देश गर्दछ ।

सुरुङ निर्माणको क्रममा देखिएको कमजोर चट्टान वग्ने समस्यालाई र त्यसबाट हुन सक्ने ढिलाईलाई समेत गम्भीरतापूर्वक ध्यान दिन तथा कमजोर चट्टान भएको ठाउँमा रक सपोर्ट बेन्च तयार गर्ने कामलाई प्राथमिकता दिन निर्दिष्ट गरेको छ ।

समितिले आयोजनाबाट सञ्चालित सामाजिक उत्थान कार्यक्रमको प्रभाव मूल्याङ्कन गर्न, स्थानीय प्रभावितहरुको भौतिक तथा आर्थिक लाभ सम्बन्धी कार्यविधि/निर्देशिका यथाशीघ्र तयार गर्न, गराउन एवं आयोजना स्थलसम्म पुग्ने सडकको तत्काल स्तरोन्नति गर्न भनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयको समन्वयमा मेलम्ची खानेपानी आयोजना (क) र (ख) दुबैको निकट भविष्यमा स्थलगत भ्रमण गर्ने निर्णय गरेको छ । साथै सो को व्यवस्थापन गर्न समेत समिति उल्लेखित मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देश गर्दछ ।

आयोजनाबाट उपलब्ध हुने खानेपानी वितरणको लागि मेलम्ची खानेपानी आयोजना (ख) ले गर्ने पूर्वाधार विकासको काम (विशेष गरी पाइप विच्छ्याउने) कामलाई तिब्रता दिन, पाइप विच्छ्याउने कार्यले गर्दा सडक सञ्चालनमा कठिनाई समेत देखिएकोले सडक सञ्चालनमा/आवागमनमा न्यून असर गर्ने गरी काम गर्न, रातको समयमा समेत काम गर्न तथा पानी वितरणको पूर्वाधारलाई छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देश गर्दछ ।

निर्माण सम्बन्धमा जमिनमुनी गरिने कार्यहरु (ढल, पानीका पाइप तथा सुरुङ, अप्टिकल फाइवर, विद्युत तारलगायतका निर्माण कार्यहरु) को मापदण्ड, एकीकृत रुपमा संरक्षण गर्ने निकायको अभाव देखिएकोले जमिनमुनी गरिने निर्माण कार्य हेर्ने एउटा संयन्त्र तयार गर्न सरकार, प्रम कार्यालय र राष्ट्रिय योजना आयोगलाई निर्देश गर्दछ ।

उपत्यका भित्रको पानी वितरण प्रणालीलाई समयानुकूल स्तरोन्नति गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको संरचना तथा जनशक्तिलाई यथशीघ्र पुनरावलोकन गर्न, गराउन सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, खानेपानीतथा सरसफाई मन्त्रालय तथा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देश गर्दछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL