Logo

यस पटकको दशैमा नयाँ गाडी नथपिने, सरकारको नीतिगत अस्पष्टताले समस्या

यस पटकको दशैमा नयाँ गाडी नथपिने, सरकारको नीतिगत अस्पष्टताले समस्या


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यस पटकको दशैमा पनि नयाँ बस नथपिने भएको छ । यातायात व्यवसायीहरुले दशै तिहारजस्ता चाडपर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउन नयाँ बस थप्ने गरेपनि यस पटक भने नथपिने भएको छ ।

सरकारको नीतिगत अस्पष्टताका कारण यस पटक नयाँ बस नथप्ने निर्णय गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए । ‘सरकार कहिले आफैले बस संचालन गर्ने भन्छ भने कहिले आफुखुशी नीतिनियम परिवर्तन गर्छ,’ उनले भने, ‘नयाँ लगानी गर्दा सुरक्षित नहुने भएकाले व्यवसायीले थप्ने आट गरेका छैनन् ।’

सरकारले हाल यातायात सम्बन्धी नीति नै परिवर्तन गर्न लागेको छ । उक्त नीतिले यातायात व्यवसायलाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा नै व्यवसायी सशंकित भएको खनालले जानकारी दिए । साथै लगानीको सुरक्षा नभएसम्म नयाँ गाडी नथप्ने योजना बनाएको समेत उनले बताए । ‘लगानी गरे अनुसारको प्रतिफल आउनु पर्छ भने सामानको पनि सोही अनुरुप सुरक्षा हुनुपर्छ,’ उनले भने, ‘यदि राज्यबाटै लगानीको सुरक्षा छैन भने कसले लगानी गर्छ ।’ साथै सरकारले पछिल्लो समय आफुखुशी नीति परिमार्जन गरेर व्यवसाय नै धरापमा पार्न लागेको सम्बद्ध व्यवसायीहरुको आरोप छ ।

व्यवसायीले दशै तिहारजस्ता चाडका समयमा वर्षेनी ३ सय देखि ४ सय वटा नयाँ वस थप्दै आएका थिए । व्यवसायीले गत वर्ष पनि नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ नपाएको भन्दै नयाँ वस थपेका थिएनन् । यस पटक पनि नयाँ वस नथप्दा यात्रुलाई दशैको समयमा घर जान कठिन हुने सरोकारवालाहरु बताउँछन् । २ वर्षको अन्तरालमा साविकको भन्दा ६ सयभन्दा गाडी कम हुँदा दशैका लागि राजधानी वाहिर जाने यात्रुलाई ठूलो मर्का पर्ने छ । यसपटक सामान्य रुपमा बढीमा २०÷३० वटा गाडी थपिन सक्ने खनालले जानकारी दिए ।

केही सयम अघि सरकार कच्ची सडकमा गाडी चाउँदा बढी दुर्घटना भएको भन्दै त्यस्ता सडकमा सार्वजनिक सवारी संचालन गर्न रोक लगाएका थियो । हाल व्यवसायीले त्यस्ता सडकमा पनि गाडी संचालनका लागि रुट परमिट दिनुपर्ने माग राख्दै आएका छन् । गाउँगाउँमा जानका लागि रुट परिमिट नदिएको भन्दै व्यवसायीे हालसम्म अग्रीम टिकट बुकिङ समेत भर्खर खुला गरेका छन् । यस अघि असोज १ गते नै टिकट खुला गरेकोमा यस पटक ७ गतेबाट मात्र खुला गरिएको छ । जसले गर्दा पनि यात्रुहरुलाई समस्या पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL