Logo

उपत्यकाका सडकमा सौर्य बत्ती जडान गर्न ९ कम्पनी छनौट, ३ महिनाभित्रै निर्माणकार्य शुरु

उपत्यकाका सडकमा सौर्य बत्ती जडान गर्न ९ कम्पनी छनौट, ३ महिनाभित्रै निर्माणकार्य शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपत्यकाका प्रमुख सडकहरुमा १ हजार ८५ वटा सौर्य बत्ती जडानको प्रक्रिया अघि बढेको छ । आगामी ३ महिना भित्र सोलार प्यानल जडान गर्ने लक्ष्यसहित काम अघि बढाइएको हो ।

सडक सौर्य बत्ती जडानका लागि १८ ओटा कम्पनीले आवेदन दिएका थिए । जसमध्ये पहिलो चरणमा ९ ओटा कम्पनी छनौट भएका छन् । ती कम्पनीलाई आर्थिक र प्राविधिक प्रस्ताव ल्याउन निर्देशन दिइएको काठमाडौं महानगरपालिकाका पब्लिक प्राइभेट पाटनरसीप प्रमुख शिव अधिकारीले जानकारी दिए ।

उनका अनुसार ती कम्पनीहरुको प्राविधिक र आर्थिक प्रस्तावको मूल्यांकन गरेर उपयुक्त कम्पनीहरु छानिने छ । महानगपालिकाले आगामी डेढ बर्ष भित्र उपत्यकाका प्रमुख सडकमा सोलार जडान गर्ने उद्देश्यका साथ कम्पनी छनौटको प्रक्रिया अघि बढाएको हो । महानगरले मुख्य सडकहरुमा सार्वजनिक नीजि साझेदारी अवधारणा अन्तर्गत सोलार बत्ती जडान गर्न लागेको हो ।

काठमाडौंका मुख्य सडकहरुलाई उज्यालो बनाउने उद्देश्यका साथ यो कार्यक्रम अगाडी बढाइएको अधिकारीले जानकारी दिए । सौर्य बत्ती जडानका लागि महानगरले ३ छुट्टा छुट्टै क्षेत्र पहिचान गरेको छ । जसअनुसार कलंकी देखि माइतिघर, केशरमहल चोक देखि ठमेल र क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सोलार लाइट राखिने छ । त्यस्तै सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो खण्डमा ४ सय पोल गाडिने छ ।

त्यस्तै दोश्रो खण्डमा दरवारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी तथा गौशालामा सोलार राखिने छ । त्यस्तै ज्ञानेश्वर–मैतीदेबी– बत्तीसपुतली हुँदै डिल्लीबजार–पुतलीसडकमा सौर्य बत्ती जडान गरिने छ । सो खण्डमा ३ सय ओटा सौर्य बत्ती जडान हुने छ ।

महानगरले पहिचान गरेकोमध्ये तेस्रो जोनमा ३ सय ८५ पोल राखिने छ । सो खण्ड अन्तर्गत पुरानो बानेश्वर–रत्नराज्य स्कुल हुँदै संखमुल पुल, तिनकुने–कोटेश्वरहुँदै नरेफाँट र पुरानो बानेश्वर–भिमशेनगोला हुँदै सिनामंगल चोकसम्म सौर्य बत्ती जडान गरिने छ ।

उक्त क्षेत्रमा सोलार लाइट जडानका लागि फरक फरक कम्पनी छनौट गरिने भएको छ । अधिकारीका अनुसार एउटा पोलका लागि १ लाख ५० हजार रुपैयाँ लाग्छ । सोलार जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्वन्धित कम्पनीले नै वेहोर्ने छ ।

सम्झौता अनुसार सम्वन्धित कम्पनीले सोलारको पोलमा विज्ञापन राखेर आम्दानी गर्न पाउने छ । ‘सोलारको पोलमा अन्य कम्पनीलाई विज्ञापन राख्न दिइनेछ,’ उनले भने ‘सो विज्ञापन राखेबापतको पैसा सम्बन्धित कम्पनीका आम्दानी हुनेछ ।’ पोलमा राखिने विज्ञापनको बोर्ड ग्लोसाइन बोर्ड हुनुपर्ने छ ।

सोलार जडान गर्ने कम्पनीले एउटा पोलको बार्षिक ७ हजार ८ सय रोयल्टी बुझाउनुपर्ने छ । यसरी १ हजार ८५ ओटा पोलबाट महानगरले बार्षिक कम्तिमा ८४ लाख ६३ हजार रोयल्टी उठाउँछ । त्यस्तै महानगरपालिकाले विज्ञापन राख्ने कम्पनीबाट विज्ञापनको कर समेत लिने छ । स्वीकृति भएको प्रस्तावले १ बर्षको निर्माण अवधिबाहेक १० बर्षपछि सो सोलार, व्याट्रि तथा विज्ञापन स्वत महानगरपालिकाको हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL