Logo

असारदेखि पाँचै विकास क्षेत्रमा विषादी मापन यन्त्र, रोकिएला विषादीको प्रयोग ?

असारदेखि पाँचै विकास क्षेत्रमा विषादी मापन यन्त्र, रोकिएला विषादीको प्रयोग ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले पाँच विकास क्षेत्रका मुख्य सहरमा विषादी मापन यन्त्र राख्ने भएको छ । आगामी असार देखि मेसिन जडान गर्ने तयारी भएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिए ।
उनका अनुसार पोखरा, विराटनगर, नेपालगञ्ज, धनगढी र नारायणगढमा विषादी मापन मेसिन राख्न लागिएको हो । धेरै तरकारी आउने तथा तरकारीको मूख्य बजार भएकोले ति स्थानमा यन्त्र जडान गर्न लागेको उनले जानकारी दिए । त्यस्तै निकट भविष्यमा अन्य स्थानमा पनि मेसिन जडान गर्ने योजना रहेको बताइएको छ ।
उनका अनुसार मेसिन खरीदका लागि बोलपत्र आवह्वान गरिएको छ । आगामी १ हप्तामा सम्पूर्ण आवेदनकको मूल्यांकन गरी एउटा मेसिन खरिदका लागि छनौंट गरिने भएको छ ।
पछिल्लो समय तरकारीमा विषादीको मात्रा अत्याधिक देखिएपछि सरकारले यस्तो कदम चाल्ने निर्णय गरेको थियो । हाल काठमाडौंको कालिमाटीमा विषादी मापन यन्त्र राखिएको छ । उनका अनुसार एउटा मेसिनको ८ लाख रुपैयाँ पर्ने छ । त्यस्तै विषादी मापनका लागि आवश्यक केमिकललगायत अन्य सामग्रीको लागिमात्र १२ लाख रुपैयाँ पर्ने उनी बताउँछन् ।
यसैगरी मेसिन सञ्चानल तथा विषादी मापनका लागि कम्तिमा ५० जना प्राविधिक आवश्यक पर्ने बताइएको छ । सो को लागि मेसिन ताइवानबाट ल्याउनुपर्ने छ । वाली संरक्षण निर्देशनालयलाई प्याक्टले सो मेसिन उपलब्ध गराउने भएको छ । मेसिन जडान हुनासाथ बाली संरक्षण निर्देशनालयका प्राविधिकहरुले तरकारी तथा फलफुलमा विषादीको मात्रा मापन गर्ने छन् ।
त्यस्तै निर्देशनालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा हालै काठमाडौं उपत्यकाका ४ वटै नाकामा फलफूल तथा तरकारीको विषादी परीक्षण थालिएको छ ।
हाल साँगा, थानकोट, फर्पिङ र ककनी नाकाबाट भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण थालिएको हो । जसअनुसार साताको दुई दिन दुई नाकामा अनुगमन गर्ने तथा संकलित नमुनाहरु बाली संरक्षण निर्देशनालयको प्रयोगशालामा द्रुत विश्लेषण विधिबाट विषादी परीक्षण गरिदै आएको छ ।
अनुगमनका क्रममा मापदण्डभन्दा बढी विषादीको मात्रा हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय खाद्य प्रयोगशालामा परीक्षण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL