Logo

६ महिनामा २२ प्रतिशत रकम खर्च, आर्थिक बृद्धि २ प्रतिशत माथी रहने

६ महिनामा २२ प्रतिशत रकम खर्च, आर्थिक बृद्धि २ प्रतिशत माथी रहने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा कुल बजेटको २१ दशमलव ९४ प्रतिशत रकम खर्च गरेको छ । जसमध्ये सवैभन्दा बढी चालू खर्च रहेको छ भने पूँजीगत खर्च एकदमै न्युन रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

समिक्षा अवधिमा सरकारले कुल १ खर्ब ७९ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये चालु खर्च तर्फ १ खर्ब ४० अर्ब २९ करोड रुपैयाँ रहेको छ । यस्तै पूँजीगत खर्च तर्फ ७ दशमलव १८ प्रतिशत अर्थात १५ अर्ब ५५ लाख रुपैयाँमात्र खर्च भएको छ ।

केही समय अघि नेपाल राष्ट्र बैंकले आर्थिक बृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेपनि ६ महिनाको अवस्थासम्म आइपुग्दा २ प्रतिशतभन्दा माथी रहेने अर्थमन्त्रालयले जानकारी दिएको छ । सो अवधिमा मुद्रास्फीति भने ९ दशमलव ४ प्रतिशत रहेको छ । नाकाबन्दी खुलेसँगै आर्थिक क्रियाकलापले गति लिने हुँदा पूँजीगत खर्च बढ्न गई आर्थिक बृद्धिदर बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्षमा ७ खर्ब १ अर्ब ९८ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । जुन रकम चालू आबको बजेटको ८५ दशमलव ६६ प्रतिशत रकम हुन आउँछ । पहिलो ६ महिनामा निकै कम रकम खर्च भएपनि पूनर्निर्माणको काम शुरु भएसँगै बजेट खर्चमा उल्लेख्य सुधार हुने मन्त्री पौडेलको दावी छ ।
समिक्षा अवधिमा १ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको ७५ दशमलव ७८ प्रतिशत रकम हो । सो अवधिमा सरकारले २ खर्ब १६ अर्ब ५९ करोड रुपैयाँ राजस्व असुली लक्ष्य लिएको थियो ।

चालू आवको ६ महिनामा १ खर्ब ८ अर्ब ४६ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । जसमध्ये १६ अर्ब ३६ करोड रुपैयाँ अनुदानमा र ९२ अर्ब १० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण प्रदान भएको हो ।

भुकम्प पश्चातको पुनर्निर्माणका लागि दाता सम्मेलनमा प्रतिवद्धता भए अनुरुप हालसम्म ८९ अर्ब ८८ करोड रुपैयाँ बरावरको ऋण तथा अनुदानको लागि सम्झौता भइसकेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL