Logo

लगानीकर्ताले युजर नेम र पासवर्ड पाएसँगै दोहोरो अंकमा बढ्यो नेप्से, के होला लगानीकर्ताको आन्दोलन ?

लगानीकर्ताले युजर नेम र पासवर्ड पाएसँगै दोहोरो अंकमा बढ्यो नेप्से, के होला लगानीकर्ताको आन्दोलन ?



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्स)ले लगानीकर्तालाई युजर नेम र पासवर्ड दिएसँगै बजार दोहोरो अंकमा उकालो लागेको छ ।

नेप्सेले आईतबारबाट लगानीकर्तालाई अनलाईन कारोबारको युजर नेम र पासवर्ड वितरण गरेसँगै बजार दोहोरो अंकमा बढ्न पुगेको हो । आईतबार दोहोरो अंकले बढेको बजार सोमबार पनि १२ दशमलव ४९ अंकले उकालो लागेको छ ।

बजार वृद्धिका लागि सरकारले चासो नदिएको भन्दै लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको माग सहित अनशन बसेका छन् । तर, अर्थमन्त्रालयले भने केही लगानीकर्ता अनशन बस्दैमा सरकारले सेयर बजार बढाउन नसक्ने धारणा ल्याएको छ । पछिल्लो समय दोहोरो अंकले बढेको बजार र अर्थको धारणाले गर्दा संघर्षरत लगानीकर्ताको अनशन भने अन्यौलमा पर्ने भएको छ ।

दोहोरो अंकले बढेको बजारमा अतिरिक्त र उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ९९ अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचकमा ७२ अंकको वृद्धि भएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि १३ दशमलव ४३ अंकले उकालो लागेको छ । आईतबार होटल समुहको परिसुचक २४ अंकले बढ्दा विकास बैंक समुहको परिसुचक १५ अंकले बढ्दा लघुवित्त १८ अंक, फाइनान्स ४ र जलविद्युत समुहको परिसुचक ५ अंकले उकालो लागेका छन् ।

नगद र बोनस सेयर गरी ४० प्रतिशत लाभांस घोषणा गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेपाल इन्भेष्टमेन्टको सेयर प्रतिकित्ता २८ रुपैयाँले बढ्दै ५ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा दिनभर ४३ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १ सय ६३ कम्पनीको १२ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL