Logo

१४ सयबाट ओरालो लाग्यो नेप्से, २४ करोडमै खुम्चियो कारोबार

१४ सयबाट ओरालो लाग्यो नेप्से, २४ करोडमै खुम्चियो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको नेप्से परिसुचकले आज पनि सोही बाटो पच्छ्याएको छ । मंगलबार बजार खुलेदेखि नै घट्न शुरु गरेको नेप्से परिसुचक ६ अंकले ओरालो लागेको छ ।

केही समयसम्म १ हजार ४ सय अंकमा रुमलिएको नेप्से परिसुचक आज त्यसबाट तल झरेको छ । मंगलबार नेप्से परिसुचक १ हजार ३ सय ९४ अंकमा झरेर अडिएको छ ।

बजारमा नेप्से परिसुचकका साथै कारोबार रकममा समेत उच्च गिरावट आएको छ । कुनै समय दैनिक २ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको नेप्से परिसुचक मंगलबार २४ करोड रुपैयाँमा खुम्चिएको छ । बजारमा लगानी योग्य पूँजीको अभाव, महङ्गो ब्याजदर तथा सेयरको फ्लो बढेका कारण दैनिकजसो नेप्से परिसुचक ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

मंगलबार सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ३० अंकले घट्दा जलविद्युत समुहको परिसुचकमा २२ अंकको गिरावट आएको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि करिब ६ अंकले घट्न पुगेको छ । यस्तै ब्यापार, विकास बैंक तथा माइक्रोफाइनान्स समुहका परिसुचक पनि सोही अनुपातमा घटेका छन् ।

बजारमा कुनै पनि कम्पनीको कारोबार २ करोड रुपैयाँभन्दा माथी जान सकेको छैन । सानिमा माई हाइड्रो पावर कम्पनीको १ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार हुँदा अन्य कम्पनीको भने १ करोड रुपैयाँ पनि पुग्न सकेन ।

दिनभर कुल १ सय ५२ कम्पनीको ७ लाख ९ हजार कित्ता सेयर मात्र कारोबार भएको छ । जसमा कुल २४ करोड ४२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL