Logo

१५ करोडको ब्यापार गर्दै सकियो औद्योगिक मेला, १ लाख ९० हजारले गरे अवलोकन

१५ करोडको ब्यापार गर्दै सकियो औद्योगिक मेला, १ लाख ९० हजारले गरे अवलोकन



काठमाडौं । १५ करोडको कारोबार गर्दै १४ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको भृकुटीमण्डप चलेको मेलाको समापन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताएका छन ।

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने मुल नाराका साथ लागेको उक्त मेलामा १५ करोड रुपैंयाको कारोबार भएको तथा १ लाख ९० हजार अवलोकनकर्ताले अवलोकन गरेको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताएका छन ।

उक्त मेलामा बाजुराको हिमालयन अल्लो, झापाको रानीदेमा अर्गानिक प्लेट उद्योग, भक्तपुरको हेल्पिङ हेण्ड फेल्ट क्राफ्ले, बुटवलको लाङ्घाली अचार प्रोडक्सन एण्ड सप्लायर्स, ललितपुरको सविता कपडा उद्योग र लाहानको महिला हस्तकला उद्योगलाई उत्कृष्ट उद्यमी तथा उद्योगी सम्मानद्घारा सम्मानित गरिएको थियो ।

मुलुकको तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत उद्योगको उत्पादनलाई समावेश गरिएको महासंघले जानकारी दिएको छ ।

नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको प्रदर्शनीमा २ सय ५० स्टल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL