Logo

हस्तकला मेला तथा प्रतियोगिता मंसिर १ देखि, १० करोडको कारोवार हुने आयोजकको अपेक्षा

हस्तकला मेला तथा प्रतियोगिता मंसिर १ देखि, १० करोडको कारोवार हुने आयोजकको अपेक्षा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । १५ औं हस्तकला ब्यापार मेला तथा १३औ हस्तकला प्रतियोगिता आगामी मंसिर १ गतेदेखि हुने भएको छ । काठमाडौंको भकुटीमण्डपमा हुने सो मेला ५ गतेसम्म चल्ने आयोजक नेपाल हस्तकला महासंघले जानकारी दिएको छ ।

नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा मेला आयोजना हुँदै आएको छ । मेलामा ९ वटा प्याभिलियन सहित करिब २०० स्टल रहने छन् । हालसम्म ९ वटा प्याभिलियन र करिब ९५ प्रतिशत स्टलहरु बिक्री भईसकेको महांघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।

मेलामा प्याभिलियन र स्टलहरु मध्येबाट उत्कृष्ट एक एकलाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा विक्रीका लागि राखिने छन् ।

त्यस्तै नेपाल एकिकृत व्यापार रणनीति भित्र समावेश हस्तकलासँगका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताएको छ । हस्तकला मेलामा हस्कलाका सामाग्रीको आगामी बर्ष २०१८/१९ को ट्रेन्ड डिस्प्ले’ समेत गरिने छ ।

त्यस्तै १३औं हस्तकला प्रतियोगितामा परम्परागत विधा तर्फ ‘लोक चित्रकला’ र आधुनिक विधा तर्फ कलात्मक डिजाइनका ‘पोतेजन्य वस्तु’ मा प्रतियोगिता संचालन गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट घोषित प्रति विधा ३ जना कलाकारहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रबाट पुरष्कृत गरिने छ । प्रति विधा प्रथमरु.५० हजार, द्वितीयरु.३० हजार, र तृतीय हुनेलाई २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितात्मक प्रदर्शनीले मेलामा थप रौनक प्रदान गर्ने अपेक्षा आयोजकको छ ।
मेलाको अर्को आकर्षण भनेको हस्तकला क्षेत्रको उत्कृष्ट उद्यमी तथा कलाकार चयन हो । नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट उद्यमी र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ ।

परम्परामा आधारित समकालिन हस्तकला वस्तु विधा, टेक्सटाईल (होमडेकोर र फेशन एसेसरिज) र गरगहना आदि तीन वर्गीकरण मा परेका वस्तु मध्येबाट उत्कृष्ट एक/एक वस्तुलाई पुरष्कृत गरिने छ ।

मेलामा चीन, जापान, जर्मन, पाकिस्तान, भुटान र श्रीलंका लगायतका देशहरुबाट ३५ जना भन्दा बढि विदेशी आयातकर्ता आउने अपेक्षा राखिएको छ । विदेशी आयातकर्ताले आयातकर्ताको रुपमा मेलामा आउन दर्ता गर्नु पर्ने छ । त्यसरी दर्ता भएका आयातकर्ताहरुलाई महासंघबाट २ रात ३ दिनको लागि होटल सुविधा प्रवन्ध गरिएको छ । उक्त व्यवस्था बढिमा ४० जना आयातकर्ताकाको लागि मिलाईएको छ ।

मेलामा करिव १ लाख आगन्तुक आउने अनुमान आयोकको छ । मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोवार र व्यवसायिक अर्डर समेत गरी झण्डै रु. १० करोड भन्दा बढिको कारोवार हुने अपेक्षा राखिएको छ ।

प्रर्दशनीमा १० जना शिद्धहस्त र वरिष्ठ जेष्ठ कलाकारहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । व्यापार मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको दर रु ५० निर्धारण गरिएको छ । जसमा विद्यार्थी वर्गलाई ५० प्रतिशत सहुलियतको व्यवस्था गरिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL