Logo

बजारमा देखिएन रौनक, लगानीकर्ता दशैं खर्च जुटाउन लाग्दा ओरालो लाग्यो नेप्से

बजारमा देखिएन रौनक, लगानीकर्ता दशैं खर्च जुटाउन लाग्दा ओरालो लाग्यो नेप्से



काठमाडौं । दशैं नजिकिएसँगै लगानीकर्ताहरु खर्च जुटाउन लाग्दा नेप्से परिसुचक ओरालो लाग्न पुगेको छ । लामो समयदेखि ओरालो लागेको नेप्से परिसुचक दशैं नजिकिएसँगै लगानीकर्ताहरु खर्चको जोहोमा लाग्दा बजार झन घट्न पुगेको हो ।

‘यो दशै अघिको सेयर कारोबार हुने अन्तिम हप्ता भएका कारण लगानीकर्ताहरु आफुसँग भएका केही सेयर बिक्री गर्दै खर्चको जोहोमा लागेका छन्,’ एक लगानीकर्ताले भने, ‘नेप्से परिसुचक घटेर बजारमा सस्तोमा सेयर पाएपनि दशैंका लागि खर्च जुटाउनुपर्ने भएकाले लगानीकर्ताले झन घटेर सेयर बिक्री गर्दैछन् ।’

आईतबार बजार खुलेको केही समय उकालो लागेको बजार अन्तमा ४ दशमलव ६६ अंकले घट्न पुगेको छ । बजारमा अतिरिक्त र विकास बैंक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि निर्जीवन बीमा समुहको परिसुचक ६४ अंकले घट्दा होटल समुहको परिसुचकमा ३४ अंकको गिरावट आएको छ ।

बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ४ दशमलव ४४ अंकको गिरावट आएको छ । यस्तै जीवन बीमा समुहको परिसुचक २२ अंकले घट्दा उत्पादनमुलक समुहको परिसुचक २१ अंकले ओरालो लागेको छ ।

आईतबार पनि बजारमा कारोबार रकमले गति लिन सकेन । दिनभर कुल २४ करोड १४ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५६ कम्पनीको ९ लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढि प्रभु बैंकको ३ करोड ३६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL