Logo

किन खस्कियो दुई दिनमै लगानीकर्ताको आत्मबल, नेप्से परिसुचक र कारोबार दुबै लागे ओरालो

किन खस्कियो दुई दिनमै लगानीकर्ताको आत्मबल, नेप्से परिसुचक र कारोबार दुबै लागे ओरालो



काठमाडौं । दुई दिनसम्म उच्च अंकका साथ उकालो लागेको बजार पुनः सोही अनुपातमा घट्न पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजारप्रति देखाएको सकारात्मक सोचका कारण लगानीकर्ताको आत्मबल बढेको भन्दै मंगलबार र बुधबार बजार दोहोरो अंकले बढ्न पुगेको थियो ।

तर, साताको अन्तिम दिन अर्थात बिहीबार बजार सोही अनुपातमा ओरालो लागेको छ । अर्थमन्त्रीको बजारप्रतिको सकारात्मक सोचका कारण लगानीकर्ताको आत्मबल बढेको भनिएपछि बजार बढ्नका लागि लगानीयोग्य पूँजी नहूँदा पुनः घट्न सुरु गरेको एक लगानीकर्ताले जानकारी दिए । ‘बजार बढ्नका लागि लगानीकर्ताको सरकारप्रतिको सोच र आत्मबल मुख्य कुरा हो,’ ती लगानीकर्ताले भने, ‘बजारमा लगानीयोग्य पूँजीको अभाव, उच्च व्याजदर तथा नयाँ लगानीकर्ताको प्रवेश नहुँदा बिहीबार बजार पुनः घट्न पुग्यो ।’

दुई दिन लगातार दोहोरो अंकले बढेको बजार बिहीबार १८ दशमलव १२ अंकले ओरालो लागेको छ । बजारमा परिसुचकका साथै कारोबार रकम समेत ओरालो लाग्न पुगेको छ ।

अघिल्लो दिन ४८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा बिहीबार ४० करोडमा सिमित हुन पुग्यो । दोहोरो अंकले घटेको बजारमा व्यापार र म्युचुअल फण्ड बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि निर्जीवन र जीवन बीमा समुहको परिसुचक १०५ अंकले ओरालो लागेको छन् ।

यसैगरी बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा १४ दशमलव ७९ अंकको गिरावट आएको छ भने होटल ४९ र विकास बैंक समुहको परिसुचक १२ अंकले झरेको छ ।

बजारमा बिहीबार पनि सबैभन्दा बढि शिवम सिमेन्ट सेयर कारोबार उच्च रहेको छ । शिवमको ५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार हुँदा प्रभु बैंकको २ करोड ६७ लाख रुपैयाँको खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL