Logo

किन उचालिँदै छ नेप्से ?, परिसुचक २२ अंकले बढ्दा कारोबार पनि सुधार

किन उचालिँदै छ नेप्से ?, परिसुचक २२ अंकले बढ्दा कारोबार पनि सुधार



काठमाडौं । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको एउटा भाषणले उकालो लागेको बजारले बुधबार पनि निरन्तरता पाएको छ । अर्थमन्त्री खतिवडाले दोस्रो बजारमा लगानी गर्ने उपयुक्त अबसर भएको भन्दै सोही अनुरुप सम्बद्ध निकायलाई पनि आग्रह गरेसँगै बजारमा तरङ आएको छ ।

बजार लगानीकर्ताको विश्वासमा चल्ने र अर्थमन्त्रीको बजार प्रतिको सकारात्मक सोचले लगानीकर्ताको मनोवल बढेको एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले बजार एकदमै तल्लो विन्दुमा आईपुगेको र पैसा हुने लगानीकर्ताको लागि सस्तोमा सेयर उठाउने मौका थियो,’ ती लगानीकर्ताले भने, ‘यहिँ समयमा अर्थमन्त्रीले पनि बजारप्रति सकारात्मक सोच देखाउनुभयो जसका कारण बजार बढ्न पुग्यो ।’

सोही अनुरुप मंगलबार २६ अंकले बढेको बजार बुधबार २२ दशमलव ६८ अंकले बढ्न पुग्यो । बजारमा परिसुचकका साथै कारोबार रकमले समेत साथ दिएको छ । सामान्यतया दैनिक जसो २५÷३० करोड रुपैयाँको कारोबार भइरहेको बजारमा बुधबार ४७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बढ्दो बजारमा व्यापार बाहेक सबैजसो समुहका परिसुचक दोहोरो अंकले उकालो लागेका छन् । जसका सबैभन्दा बढि बीमा समुहको परिसुचक बढ्न पुगेको छ । जसमा जीवन बीमा समुको परिसुचक १७२ अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचक १४३ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि करिव १९ अंकको वृद्धि भएको छ भने उत्पादनमुलक ७३ र होटल समुहको परिसुचक ६९ अंकले बढ्न पुगेको छ । बुधबार सबैभन्दा बढि शिवम सिमेन्टको ६ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL