Logo

अर्थमन्त्रीको त्यो एक बोली जसले सेयर बजारमा ल्यायो उछाल, लहडमा लगानीकर्ता

अर्थमन्त्रीको त्यो एक बोली जसले सेयर बजारमा ल्यायो उछाल, लहडमा लगानीकर्ता



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी संचयकोषको ५८ औं बार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा बोल्दै भनेका थिए अहिले लगानीकर्ताका लागि सेयर बजारको दोस्रो बजारमा प्रवेश गर्ने उपयुक्त अवसर हो । प्रायःजसो कार्यक्रममा जोखिम लिने क्षमता बनाएर मात्र सेयर बजारमा लगानी गर्न सुझाव दिँदै आएका अर्थमन्त्री खतिवडाले मंगलबार दोस्रो बजारमा प्रवेश गर्ने सुनौलो अवसर भएको बताएसँगै त्यसले बजारमा तरङ्ग ल्याएको छ ।

laxmi

उनको एक बोली नै सेयर बजारका लगानीकर्ताका लागि अचुक औषधि बन्न पुगेको छ । अघिल्ला दिनहरुमा दैनिकजसो दोहोरो अंकले गिरावट आएको बजारमा मंगलबार अर्थमन्त्रीको उक्त बोलीसँगै १८० डिग्रीको परिवर्तन अर्थात दोहोरो अंकको वृद्धि भएको छ ।

अर्थमन्त्रीले कार्यक्रममा बोल्दै अहिले दोस्रो बजारमा प्रवेश गर्ने उपयुक्त समय भएको जानकारी दिँदै पूँजी बजारमा लगानी बढाउन सम्बद्ध निकायलाई निर्देशन समेत दिएका थिए । पूँजी बजारप्रति दोधारे नीति लिएका अर्थमन्त्री खतिवडाले मंगलबार कार्यक्रमलाई संबोधन गर्दै उपयुक्त अबसर भएको बताएसँगै लगानीकर्ता त्यसैको पछि लागेका छन् ।

सोही अनुरुप दैनिक ओरालो लागेर वियरिस ट्रेण्ड समातेको नेप्सेमा मंगलबार एकाएक चमक आयो । तर, मंगलबार बढेको बजार दिगो हुन्छ वा हुँदैन भन्नेमा आशंका रहेको एक लगानीकर्ताले जानकारी दिए । ‘बजारको बास्तविकता के हो आफुले लगानी गर्ने कम्पनीको वित्तीय परिसूचक कस्तो छ भन्ने कुराको विश्लेषण गरेर लगानीकर्ता बजारमा प्रवेश गर्नुपर्छ,’ ती लगानीकर्ताले भने, ‘तर लगानीकर्ताहरु कुन व्यक्तिले के बोल्छन् त्यसैको आधारमा लगानी गर्दै आएका छन् ।’

सेयर बजार उतारचढाव हुनुमा लगानीकर्ताको सरकारप्रतिको विश्वासको आधारमा हुन्छ । सरकारले पूँजी बजारलाई कस्तो नजरले हेरेको छ सोही आधारमा लगानीकर्ताहरु बजारमा इन्ट्री तथा एक्जिट हुने अर्का लगानीकर्ता बताउँछन् । तर सरकार प्रतिको विश्वासका साथसाथै देशको अर्थतन्त्र, आफुले लगानी गर्ने कम्पनीको भविश्य तथा समग्र वित्तीय परिसूचकमा निर्भर पर्ने उनको भनाई थियो ।

पछिल्लो समय पूँजी बजारका लगानीकर्ता कम्पनी विश्लेषणभन्दा पनि कुन व्यक्तिले कुन कम्पनी किन्दैछ, नियामक निकायले के बोल्छन् भन्ने आधारमा लगानी गर्न थालेका छन् । जसको फलस्वरुप मंगलबार सेयर बजारमा उछाल आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोही अनुरुप नेप्सेका सबै परिसूचकहरु वृद्धि हुन पुग्यो । २६ दशमलव ९१ अंकले बढेको बजारमा सबैभन्दा बढि बीमा समुहको परिसुचक उकालो लागेको छ । जसमा निर्जीवन बीमा समुहको परिसुचक ८८ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचकमा पनि १ सय २ अंकको वृद्धि भयो ।
यसैगरी बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि २१ अंकको वृद्धि भयो । तर, अर्थमन्त्रीको बोलीसँगै उछाल आएको बजारमा कारोबार रकमले भने गति लिन सकेन । दिनभर कुल ३८ करोड ३९ लाखको मात्र सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL