Logo

प्रधानमन्त्रीको काममा यातायात विभागको अंकुश, विद्युतीय सार्वजनिक यातायात संचालनमा किन रोक्दैछ विभाग ?

प्रधानमन्त्रीको काममा यातायात विभागको अंकुश, विद्युतीय सार्वजनिक यातायात संचालनमा किन रोक्दैछ विभाग ?



काठमाडौं । विद्युतीय सार्वजनिक यातायात चलाउन लागिपरेको निजी यातायात कम्पनी सुन्दर यातायातले प्रधानमन्त्रीबाटै हौसला पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार सुन्दर यातायातको टोलिलाई बोलाएर नै विद्युतीय सार्वजनिक सवारीसाधन चलाउन लागि पर्न निर्देशन दिएका छन ।

आईतबार सुन्दर यातायातको टोलीसँगको भेटमा उनले विद्युतीय सार्वजनिक सवारीसाधन नेपालभर नै चलाउनु पर्ने ईच्छा व्यक्त गर्दै जतिसक्दो चाँडो काम गर्न निर्देशन दिएका हुन । भेटमा उनले विद्युतीय सार्वजनिक सवारीसाधन संचालनका लागि आफुले जतिसक्दो सहयोग गर्ने समेत बताएका सुुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

प्र्रधानमन्त्री स्वयमले नै विद्युतीय सार्वजनिक सवारीसाधन संचालन गरिनुपर्छ भन्दै यातायात व्यवसायीलाई हौसला बढाइरहेको बेला यातायात व्यवस्था विभागले भने विभिन्न बहानामा रोक लगाएको छ । यहि भदौ २३ गतेदेखि सेवा शुभारम्भ गरेको सुन्दर यातायातलाई विभागले हाल परीक्षणका लागि भन्दै संचालनमै रोक लगाएको छ । शुभारम्भ भएकै दिन बेलुका परीक्षणको लागि भन्दै २ ओटा बस विभागले लिएको थियो ।

त्यस यता सुन्दर यातायातका अन्य बसहरु भने बीना यात्रु काठमाडौंका रोडमा खाली कुदिरहेका छन । ‘हिजो मात्रै हाम्रा बसहरु परीक्षण पास भएका छन,’ सुन्दर यातायातका अध्यक्ष थापाले भने, ‘परीक्षण भन्दै ७ दिनसम्म हाम्रा बसहरुलाई त्यत्तिकै झुलाईयो ।’

थापाका अनुसार बसहरु परीक्षण अवधिबाट पास भएको र अबका दिनमा विभागले नंवर प्लेट दिनेवित्तिकै सडकमा बसहरु मान्छे बोकेर हिँड्नेछन । विभागले आज या भोली नै नंवर प्लेट दिने तयारी गरेको उनको भनाई छ ।

सुन्दर यातायातले हाल काठमाडौंमा र आगामी दिनमा देशभर नै विद्युतीय सार्वजनिक सवारीसाधन संचालन गर्ने योजना बनाएको छ । विद्युतीय बस संचालनका लागि प्रधानमन्त्रीलगायत माथिल्लो निकाय तयार भएपनि यातायात विभागलगायतका निकायले विभिन्न बहानामा रोक लगाउँदै आएको अध्यक्ष थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL