Logo

मार्जिन कलको चेपुवामा बजार, दैनिक बजार खस्किन थालेपछि ‘डिप्रेशन’मा लगानीकर्ता

मार्जिन कलको चेपुवामा बजार, दैनिक बजार खस्किन थालेपछि ‘डिप्रेशन’मा लगानीकर्ता



काठमाडौं । लगातार ओरालो लागेको नेप्से परिसुचकमा आईतबार दोहोरो अंकको पहिरो गयो । बजार खुलेदेखि नै ओरालो लागेको बजार अन्तमा १७ दशमलव ८७ अंकले घट्न पुग्यो ।

बजार प्रवेशका लागि पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताको धैर्यताको बाध नै फुटेपछि बजारमा उच्च गिरावट आउन थालेको एक लगानीकर्ताले बताए । ‘पहिला लगानीकर्ताहरु बजारमा नयाँ लगानीकर्ताहरु थपिन्छन र बजारले गति लिन्छ भन्ने आशामा बजारमा कारोबार गरिरहेका थिए,’ ती लगानीकर्ताले भने, ‘लामो समयसम्म निरन्तर बजार ओरालो लागेका कारण नयाँ लगानीकर्ता प्रवेश नगरेपछि हाल बजारमा भएका लगानीकर्ताहरुको पनि मनोवल खस्किएको छ ।’

पछिल्लो समय लगानीकर्तारहरु ‘डिप्रेशन’बाट समेत ग्रसित हुन थालेका सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘केही समयअघि बजार बढ्ने आशामा बैंकबाट समेत ऋण लिएर लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो बढाए,’ एक ठूला लगानीकर्ताले भने, ‘बजारको उच्च गिरावट र बैंकको चर्को व्याजका कारण त्यस्ता लगानीकर्ताहरु उठ्नै नसक्नेगरी थला परेका छन् ।’ घट्दो बजार र बैंक व्याजका कारण लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियोबाट छोटो समयमै ४० प्रतिशतभन्दा बढि गुमाईसकेको र पछिल्लो समय त्यस्ता लगानीकर्ताहरु ‘डिप्रेशन’बाट समेत ग्रतित बन्न पुगेको ती लगानीकर्ताको दावी थियो ।

केही समय अघिसम्म गर या मरको अवस्थामा रहेका लगानीकर्ताहरु आईतबारको बजार घटाईको स्थिती हेर्दा अबका दिनमा केही पनि गर्न नसक्ने अवस्थामा पुगेका छन् । ‘नेपालको सेयर बजारको इतिहासमै मैले पहिलो पटक २ हप्तादेखि सेयर खरिदबिक्री नगरी बसेको छ,’ एक लगानीकर्ताले भने, ‘केही समयअघिसम्म त बजार बढ्छ कि भन्दै सेयर खरिदबिक्री गर्र्दै बसेको थिए अब बजार हेरेर बस्नु सिवाय अरु केही रहेन ।’

यसैरी बजारमा मार्जिन कलको चाप पर्न थालेकाले पनि आईतबार सेयर बजारमा उच्च अंकको पहिरो गएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । बिहीबारदेखि नै केही बैंक तथा वित्तीय संस्थाले मार्जिन कलका लागि लगानीकर्तालाई दबाब दिन थालिसकेको ती लगानीकर्ता बताउँछन् । नेपाल राष्ट्र बैंकले मार्जिन लेण्डिङमा रहेका सेयरको २० प्रतिशतसम्म मूल्य घट्दा मार्जिन कल गर्न नपाउने व्यवस्था गरेको थियो । तर, पछिल्लो समय लगातार ओरालो लागेको बजारका कारण त्यस्तो सिमा समेत नाघेका कारण बैंकहरुले मार्जिन कलका लागि फोन गर्न थालिसकेका छन् ।

उच्च अंकमा घट्दो बजार, नजिकिदो दशै तथा मार्जिक कलको प्रेसरले आगामी दिनमा बजारले अझै घट्ने सकेत गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । पछिल्लो समय बजारमा नेप्से परिसुकका साथै कारोबार रकममा समेत उच्च गिरावट आएपछि लगानीकर्ताहरु थप दबाबमा परेका हुन् ।

आईतबार पनि दोहोरो अंकले घटेको बजारमा २८ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । दैनिक २ अर्ब रुपैयाँभन्दा माथीको सेयर खरिदबिक्री हुन थालेको नेपाली सेयर बजारमा दैनिक कारोबार २०÷३० करोड रुपैयाँमा खुम्चिन थालेपछि नयाँ लगानीकर्ताको प्रवेशको त कुरै छाडौं पुराना लगानीकर्ता समेत विचलित बन्न पुगेका छन् ।

दोहोरो अंकले घटेको बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहका परिसुचकहरु घटेका छन् भने बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि २० अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL