Logo

फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु, व्यवसायीद्वारा संरक्षण माग

फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु, व्यवसायीद्वारा संरक्षण माग



काठकाडौं । काठमाडौंमा सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गरेका हुन । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा एक्स्पो सुरु भएको हो । राजधानीको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोको उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मानिसको जीवनमा जुनसुकै बेला पनि आवश्यक पर्ने फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताए । उनले सरकारले व्यवसायीमैत्री वातावरण बनाउन भन्दा पनि व्यवसायीलाई तर्साउने काम गरेको आरोप समेत लगाएका छन । पहिले थुन्ने अनि पछि सुन्ने सरकारको नीतिले निजी क्षेत्र अघि बढ्न नसकेको उनको भनाई थियो । उनले निजी क्षेत्रले सरकारलाई विस्वास गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन ।

आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले कच्चा पदार्थको सहज उपलब्धता नभएका कारण मुलुकमा फर्निचर व्यवसाय फस्टाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन । दक्ष जनशक्तिको अभाव सँधै खड्किँदा अन्य मुलुकबाट जनशक्ति आयात गर्नु पर्ने अवस्था आएको भन्दै उनले प्रोत्साहनमुखी ठोस नीति ल्याउन सरकारसँग आग्रह गरे ।

मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भए पनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको उनको गुनासो थियो ।
विगत वर्षको तुलनामा परिस्कृत रुपमा एक्स्पो सुरु गरिएको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बन्ने छ ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL