Logo

सुन्दर यातायातका विद्युतीय बसमा यातायात व्यवस्था विभागको अंकुश, परीक्षणको नाममा संचालनमा रोक

सुन्दर यातायातका विद्युतीय बसमा यातायात व्यवस्था विभागको अंकुश, परीक्षणको नाममा संचालनमा रोक



काठमाडौं । यातायात व्यवस्था विभागले सुन्दर यातायातका विद्युतीय बसहरुलाई संचालनमा रोक लगाएको छ । सोमबार मात्रै काठमाडौंका रिङरोडमा संचालनमा ल्याउनेगरी उद्घाटन गरिएका सुन्दरका ६ ओटा बसहरुलाई परिक्षण गर्नुपर्ने भन्दै संचालनमै रोक लगाएको हो ।

विभागले सुन्दर यातायातका २ बस विद्युतीय सवारीसाधनलाई परिक्षण गरेर मात्रै चलाउन पाईने भन्दै उद्घाटन भएकै दिन बेलुका यातायात कार्यालय टेकु पुर्याएको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए । उनका अनुसार विभागसँग विद्युतीय सवारीसाधन चेक जाँच गर्ने कुनै उपकरण र पूर्वाधार नहुँदा नहुँदै पनि सुन्दर यातायातलाई चेकजाँचको नियम लादिएको छ ।

सुन्दर यातायातले काठमाडौंका सडकमा गुडाउने भन्दै सोमबार मात्रै ६ ओटा विद्युतीय बसहरु संचालनमा ल्याएको थियो । सोही अनुसार विभागले २ ओटा बसहरु परिक्षणका लागि लिएपछि अन्य ४ ओटा बसहरु पनि संचालनमा आउन नसकेका सुन्दर यातायातका अध्यक्ष थापाले जानकारी दिए । ‘हाम्रा बसहरुको पर्फरमेन्स राम्रो छ भन्ने पुष्टी भईरहँदा पनि विभागले परिक्षणका लागि लिएको छ,’ उनले भने, ‘उक्त परिक्षण रिपोर्ट नआउँदासम्म अन्य ४ ओटा बसहरु पनि गुड्न नपाई रोकिराखिएको छ ।’

उनका अनुसार मंगलबार विभागले भैसेपाटीको उकालोमा उक्त बसहरुको परिक्षण पनि गरेको थियो । सोही अनुसार बसले डिजेल बसको जत्तिकै पर्फरमेन्स दिएको छ । त्यस्तो हुँदा हुँदै पनि विभागले बस संचालनका लागि केहि दिन अझै लगाउने उनले शंका व्यक्त गरेका छन । सुन्दर यातायातले काठमाडौंको रिङरोड तथा केही भित्रि सडकमा पनि विद्युतीय बसहरु गुडाउने योजना बनाएको छ ।

तर विभाग भने यस विषयमा अनविज्ञ रहेको बताउँछ । सुन्दर यातायातका विद्युतीय बसहरुको परिक्षणका लागि विभाग ल्याईएको कुरा आफुलाई जानकारी नभएको विभागका महानिर्देशक गोगन बहादुर हमाल बताउँछन ।

यस्तै कम्पनीले काठमाडौं बाहीर पनि चार्जिङ स्टेशनको सुविधा भएपछि विद्युतीय बसहरु गुडाउने योजना बनाएको अध्यक्ष थापाले जानकारी दिएका छन । हाल विभागको टेकु कार्यालयमा सुन्दर यातायातका २ ओटा विद्युतीय बसहरु परिक्षणको नाममा थन्क्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL