Logo

आगामी हप्तादेखि काठमाडौंका सडकमा सुन्दर यातायातका विद्युतीय बस, अब १२ रुपैयाँमै यात्रा

आगामी हप्तादेखि काठमाडौंका सडकमा सुन्दर यातायातका विद्युतीय बस, अब १२ रुपैयाँमै यात्रा



काठमाडौं । सार्वजनिक यातायात चलाउँदै आएको सुन्दर यातायातले आगामी हप्तादेखि विद्युतीय बस संचालनमा ल्याउने भएको छ । सार्वजनिक यातायात संचालन गर्दै आएको सुन्दर यातायातले ४ वटा विद्युतीय बस संचालन गर्न लागेको हो ।

केहिदिनअघि मात्रै ४ वटा विद्युतीय बस नेपाल आईपुगेको र आगामी हप्ताको सोमबार वा मंगलबार देखि काठमाडौंको सडकमा उक्त बसहरु संचालनमा ल्याईने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार चिनियाँ गोहाङ अटोमाबाईल कम्पनीसँग खरिद गरिएका बीएके ब्राण्डका २ किसिमका विद्युतीय बसहरु काठमाडौंको रिङरोडमा आउने हप्तादेखि गुड्नेछन ।

सुन्दर यातायात प्रालिले चीनबाट १८ वटासम्म बिजुली बस भित्र्याउने गरी चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोबाइल कम्पनीसँग हालै सम्झौता गरेको थियो ।

कम्पनीले हाल चीनबाट १० दशमलव ५ र ८ दशमलव ५ मिटरका ४ ओटा बसहरु नेपाल ल्याएको अध्यक्ष थापाले जानकारी दिए । ‘हाम्रा ४ ओटा विद्युतीय बसहरु गुड्नका लागि तयार छन,’ उनले भने, ‘हामीले आगामी हप्तादेखि काठमाडौंको रिङरोडमा गुडाउने भने पनि ९ अथवा १० गते भन्नेमा एकिन भईसकेको छैन ।’

कम्पनीले विभिन्न ६ प्रकारका कार्डहरुमा विशेष छुटको व्यवस्था गरेको जानकारी दिएको छ । काठमाडौंका विभिन्न सडकमा ७ ओटा बसहरु चलाउने गरी अन्य बसहरु पनि आउँदै गरेको जानकारी दिएको छ । अन्य बसहरु चीनबाट हिँडेको ५ दिन भएको र केही दिनमै उक्त बसहरु नेपाल आईपुग्ने अध्यक्ष थापाले बिजखबरलाई जानकारी दिए ।

सुन्दर यातायातले नेपाल ल्याउने बसहरु चीनको सिचुवान प्रान्तस्थित लसान नगरमा अवस्थित कम्पनीमा बनिरहेका छन । हालै साउदी अरेबियालाई ३ सय बिजुली बस बेचेको कम्पनीले नेपाली बाटो सुहाउँदो हुनेगरी बस तयार गरेको कम्पनीको दावी छ । बीएके कम्पनीका बसको चिनियाँ सडकमा बाहुल्यता छ ।

सुन्दर यातायातले यात्रुका लागि भाडा भने अन्य बसहरुभन्दा २५ प्रतिशत सस्तो हुने बताएको छ । बसको भाडा कार्डमार्फत भुक्तानी गर्दा १२ रुपैयाँमै सवारी गर्न पाईने कम्पनीको भनाई छ । तर यात्रुले भने कार्डमार्फत भुक्तानी गर्दा १५ रुपैयाँ तिर्नुपर्ने र अन्य ३ रुपैयाँ भने बोनसस्वरुप फिर्ता आउने अध्यक्ष थापाले जानकारी दिए ।

यस्तै उक्त विद्युतीय बसहरुमा ६५ बर्ष नाघेका वृद्ध वृद्धालाई भने निशुल्क सेवा दिईने छ । कम्पनीले काठमाडौंका रिङरोड, नारायणस्थान, सुकेधारा, सितापाईला, जोरपाटी लगायतका सडकमा १८ ओटा गाडी संचालन गर्ने जानकारी दिएको छ । तर चार्जिङ स्टेशनका लागि सरकारले नै उचित वातावरण नमिलाउँदा यसको काममा ढिलाई भईरहेको अध्यक्ष थापाले बताए ।

कम्पनीका विद्युतीय बसहरुमा विभिन्न ७ ओटा डिस्प्ले सिस्टम, अगाडी र पछाडी भेन्टीलेसन, पुर्ण रुपमा ढोका बन्द भएपछि मात्रै गुड्ने, ७ ओटा क्यामरा लगायतका विशेषता रहेका छन । उक्त बस १ पटक पुर्ण रुपमा चार्ज भयो भने १ सय ६८ किलोमिटरसम्म गुड्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL