Logo

जुस र इनर्जी ड्रिंक्स आयातमा पूर्ण प्रतिवन्ध, आयातमा राखियो सर्त नै सर्त

जुस र इनर्जी ड्रिंक्स आयातमा पूर्ण प्रतिवन्ध, आयातमा राखियो सर्त नै सर्त



काठमाडौं । सरकारले इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ र फ्लेवर्ड सिन्थेटिक ड्रिंक्स आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।
आयातमा कडा नीति लिएको सरकारले आजदेखि जुस र इनर्जी ड्रिक्स आयातमा प्रतिवन्ध लगाएको हो । मन्त्रिपरिषदको गत जेठ १० गतेको बैठकको निर्णयको आधारमा निकासी पैठारीमा थप कडाई गरिएको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ । अबका दिनमा रेडबुल, प्रानजुसलगायत कुनै पनि इनर्जी ड्रिक्स र जुस आयात गर्न पाईने छैन ।

सरकारले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला तथा सिटको आयातमा पनि पूर्ण प्रतिबन्ध लगाएको छ । यस अघि २० माइक्रोनभन्दा कमको मात्र बन्देज लगाईएको थियो ।
यसैगरी भन्सार विन्दूमा आइपुग्दा ७५ उपभोग्य मिति प्रतिशत बाँकी भएको उपभोग्य वस्तुको मात्रै आयात गर्न पाइने व्यवस्था गरिएको छ । औषधिको हकमा भने औषधि व्यवस्था विभागको सिफारिसअनुसार काम हुने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयद्धारा जारी सूचना अनुसार ताजा तरकारी र फलफूलको आयात गर्दा भन्सार विन्दूमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण गरी मात्र आयात गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

यसैगरी राष्ट्र बैंकको स्वीकृति विना दुई हजार अमेरिकी डलरसम्मको आयात गरेमा त्यसमा शत प्रतिशत पैठारी दस्तुर लाग्ने भएको छ । राष्ट्र बैंकबाट स्वीकृत बैंकिङ प्रणालीबाहेक कसैले दुई हजार अमेरिकी डलरसम्मको वस्तु पैठारी गरेमा नेपाल राष्ट्र बैंकले सोको स्रोत अध्ययन गरी सिफारिस गरेको आधारमा शत प्रतिशत पैठारी दस्तु लिई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पैठारीको स्वीकृति दिन सक्ने उक्त सूचनामा उल्लेख छ ।

यस्तै एक करोड रुपैयाँभन्दा बढी मूल्यको सुर्ती आयात गर्दा १५ हजार रुपैयाँ इजाजत दस्तुर लाग्नेछ ।

निकासीतर्फ हिमाली क्षेत्रमा उत्पादन हुने चामल निकासीमा लगाएको परिमाणात्मक बन्देज हटाइएको छ भने रहरको निकासी खुला गरिएको छ ।

तर औद्योगिक मेशिनरी, पार्टपूर्जा तथा कच्चा पदार्थ अन्तरगत काचो छाला निकासीमा प्रतिवन्ध लगाएको छ । अबका दिनमा झ्याउलाई समेत विना प्रशोधन निकासी गर्न नपाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL